काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने आफूहरूको कुनै रुचि नभएको बताएका छन् ।
अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अनेटा)ले बिहीवार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्ड’ले पछिल्ला राजनीतिक घटनाक्रमबारे धारणा राखेका हुन् । उनले सञ्चारमाध्यममा आउने विभिन्न अडकलपूर्ण समाचारहरूबाट नेताकार्यकर्ताहरू अलमलमा नपर्न आग्रह गरे ।
प्रचण्ड’ले भने, “हामी अब फेरि एकचोटी यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने रुचि राख्दैनौँ। हामी जनतासँग ठिक छौँ, वर्गसँग ठिक छौँ । म तपाईंहरूलाई गम्भीर रूपमा अपिल गर्छु— भ्रममा नपर्नुहोस्। हामी नयाँ आर्थिक क्रान्तिको बाटोमा अघि बढ्दैछौँ ।”
उनले संविधान संशोधन, समीक्षा र आर्थिक समस्याको समाधानका लागि नयाँ आन्दोलन र अभियान आवश्यक रहेको बताउँदै पार्टी त्यसका लागि तयार रहेको दोहोर्याए । उनका अनुसार, नयाँ आन्दोलनकै माध्यमबाट देशलाई नयाँ दिशामा लैजान सकिन्छ र वर्तमान संरचनामा आवश्यक परिवर्तन गर्न सकिन्छ ।
कार्यक्रममा प्रचण्ड’ले माओवादी केन्द्रलाई अरू पार्टीको सहाराबिना उभिन नसक्ने भन्ने आरोपप्रति पनि प्रतिक्रिया दिए । “हामीलाई अपमानित गर्न खोजियो, तर हामीले आफ्नै खुट्टामा उभिएर चुनाव लड्यौँ र उपनिर्वाचनमा देशकै पहिलो पार्टी भयौँ,” उनले स्मरण गरे ।
उनका अनुसार, पछिल्ला स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेस र एमालेका विद्यार्थी संगठनहरू मिल्दा पनि माओवादीकै समर्थन प्राप्त विद्यार्थीहरूले ऐतिहासिक जित हासिल गरेका थिए ।
प्रचण्डको भनाइमा पछिल्लो समय मुलुकमा राजनीतिक परिवर्तनलाई उल्ट्याउने दुस्साहस भइरहेका छन् र त्यसलाई रोक्ने जिम्मेवारी माओवादीको काँधमा आएको छ । उनले पार्टीभित्रको एकतालाई बलियो बनाउँदै नयाँ अभियानको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology