काठमाडौं । गाजा सहरको पश्चिमी भाग ताल अल–हवामा बसोबास गर्ने ४९ वर्षीय प्यालेस्टिनी किसान अक्रम अबु खोसा अब विगतको सम्झनामा बाँचेका छन् । कुनै समय आफ्नो स्ट्रबेरी फार्मको बगैंचाबीच हिँडेर ताजा हावामा सास फेर्ने दिन सम्झँदै उनी अहिले घरको बाल्कोनीमा चुपचाप मोबाइल स्क्रिनमा पुराना फोटो र भिडियोहरू हेर्न बाध्य छन् । ती दृश्य अब भौतिक रूपले नष्ट भएका छन् र केवल सम्झनाको चित्र बन्न पुगेका छन् ।
उत्तरी गाजास्थित बेइत लाहियामा रहेको अबु खोसाको पारिवारिक फार्म विगतमा कृषि नवप्रवर्तनको प्रतीक मानिन्थ्यो । उनले वार्षिक रूपमा करिब ३७ टन स्ट्रबेरी फलफूल उत्पादन गर्थे । यो मात्र उत्पादन होइन, गाजाका लागि आत्मनिर्भरताको एउटा आशा पनि थियो । तर हाल ती खेतहरू भग्नावशेषमा परिणत भएका छन् । अबु खोसा पनि युद्धका कारण आफ्ना सपना गुमाउने हजारौं किसानमध्ये एक भएका छन् ।
हमासद्वारा सञ्चालित गाजा क्षेत्रका कृषि मन्त्रालयका प्रवक्ता मोहम्मद अबु ओडाकाका अनुसार अबु खोसा मात्रै होइन, यस्तै अवस्था भोग्ने किसानहरूको संख्या ५५ हजार नाघिसकेको छ । पछिल्ला महिनाहरूमा करिब १ लाख ६७ हजार डुनम अर्थात् १६ हजार ७ सय हेक्टर कृषि योग्य जमिन पूर्ण रूपमा नष्ट वा क्षतिग्रस्त भएको छ। यो केवल आँकडा होइन, हजारौं परिवारहरूको जीविकाको जरैदेखि उखेलेको वास्तविकता हो ।
कृषि मन्त्रालयको प्रारम्भिक मूल्याङ्कन अनुसार प्रत्यक्ष रूपमा करिब ३२६ मिलियन अमेरिकी डलर बराबरको क्षति भएको छ । यो केवल बीउबिजन वा संरचना मात्रको क्षति होइन, गाजाको स्थानीय उत्पादन प्रणाली, खाद्य सुरक्षाको आधार र आन्तरिक बजारको सन्तुलन समेत तहसनहस भएको संकेत हो ।
अबु खोसाजस्ता किसानका लागि आफ्नो खेत गुमाउनु केवल पेशागत घाटा होइन, जीवनशैली, पहिचान र आत्मसम्मान गुमाउनु हो । उनले भनेका छन्, "मैले खेतमा जीवन बिताएको थिएँ । अब त केवल धूलो र खरानी बाँकी छ ।"
युद्धका प्रत्यक्ष र परोक्ष असर केवल सीमारेखा वा राजनैतिक दस्तावेजहरूमा सीमित हुँदैनन् । गाजाको भूमिमा बग्ने हरेक पसिना, हुर्कने हरेक बोट, र जीविकाको आधार बनेका हरेक खेती–किसानी प्रणालीहरू यो द्वन्द्वले निल्दै गएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology