काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नीति तथा कार्यक्रम लुटतन्त्रको विरोधमा उठेको जनआवाजलाई दबाउने उद्देश्यले आएको आरोप लगाएका छन्।
शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलमार्फत सार्वजनिक गरिएको नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै शाहीले सरकारले भ्रष्टाचार र व्यवस्थाविरुद्ध जनताले उठाएको आवाजप्रति त्रसित भएर दमनको संकेत देखाएको टिप्पणी गरे। “अगुल्टोले हानेको बिरालो बिजुली देख्दा तर्सिन्छ भन्या जस्तै सरकार तर्सिएको देखियो,” शाहीले भने, “लुटतन्त्रको विरुद्धमा जनआवाजलाई दबाउनका लागि नीति तथा कार्यक्रममा लेखिएको छ।”
उनका अनुसार नीति तथा कार्यक्रमको पृष्ठ २ मा भ्रष्टाचार र राज्यव्यवस्थाविरुद्ध आवाज उठाउनेहरुलाई तह लगाउने व्यवस्था उल्लेख हुनु आफैँमा लोकतान्त्रिक मूल्यमान्यताविरुद्धको कुरा हो। “यो नयाँ खालको व्यवस्थामा पहिलो पटक यस्तो लेखिएको छ, जुन इतिहासमै थिएन,” उनले भने।
प्रवक्ता शाहीले नीति तथा कार्यक्रम जनअपेक्षाविपरीत भएको भन्दै विशेषतः युवाको रोजगारी, आन्तरिक सुरक्षा र आर्थिक पुनरुत्थान जस्ता गम्भीर विषयमा मौन रहेको आरोप पनि लगाए। “युवाहरुको रोजगारीको विषय वस्तुनै आएन, जबकि अहिलेको सबैभन्दा ठुलो समस्या त्यही हो,” उनले भने, “पुरानै ढर्राको, सुगा रटाइजस्तो, कागजको खोस्टा जस्तो दस्तावेज आएको छ।”
शाहीले नीति तथा कार्यक्रमलाई ‘टोले गुण्डाहरुको चन्दा उठाउनका लागि गरिएको सम्झौताको खोस्टो’ को संज्ञा दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले यसमा संशोधन प्रस्ताव दर्ता गर्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology