काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरु राज्य दोहनका साधन बनेको आरोप लगाएका छन् । शनिवार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा दलहरु चहिने तर राजनीतिक दलहरु स्वार्थ समूह बनिरहेको आरोप लगाए ।
पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले लोकतन्त्रमा राजनीतिक दलहरु नै विचारका वाहक हुने बताए । उनले राजनीतिक दलहरुको प्रतिष्पर्धाबाट नै लोकतान्त्रिक वातावरण बन्ने जिकिर गरे । भट्टराईले नेपालका राजनीतिक दलहरु नयाँ रहेको र दलहरु विचार, राजनीति, सिद्धान्त, आदर्शमा भन्दा पनि एउटा स्वार्थ समूह जस्तो भएर जसरी पनि निर्वाचन जितेर सत्तामा पुग्ने खेलमा सिमित रहेको बताए ।
भट्टराईले राजनीतिक दलहरुले सरकारलाई बिना लगानी सम्पत्ती आर्जन गर्ने माध्यम बनाएको समेत आरोप लगाए । राजनीतिक दलहरु विचार, सिद्धान्त, आदर्श, नैतिकताका वाहक हुन नसकेको उनको भनाइ छ ।
दलीय आवद्धता अब नेपालका निम्ति ठूलो बाधक बनिरहेको जिकिर गर्दै अध्यक्ष भट्टराईले नेपाली अर्थतन्त्रलले साँच्चै नै गुणात्मक फड्को मार्ने हो भने गैरआवासीय नेपालीहरुको भुमिका अहम् हुने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology