काठमाडौँ । देशमा हाल पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट प्रवेश गरिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहँदा बाँकी प्रदेशमा आंशिक बदलीको अवस्था छ। लुम्बिनीका केही स्थान, सुदूरपश्चिमका थोरै स्थान र कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज सोमबार पनि सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना कायम नै रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना समेत देखिएको छ।
देशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकोले त्यसले दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पार्न सक्ने महाशाखाको भनाइ छ। त्यसैकारण आवश्यक सतर्कता अपनाउन तथा तयारी अवस्थामा रहन महाशाखाले आग्रह गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology