काठमाडौं । संघीय संसद भवन निर्माणको सुस्त प्रगतिप्रति नेपाली कांग्रेसकी सांसद सीता मिजारले प्रतिनिधि सभाको बैठकमा सरकारको ध्यानाकर्षण गराएकी छन्। सिंहदरबार परिसरभित्र निर्माण भइरहेको यो भवन सन् २०७९ भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको भए पनि चौथोपटक म्याद थप गर्दा समेत अझै ८६ प्रतिशत मात्र भौतिक प्रगति भएको उल्लेख गर्दै उनले यस्ता संरचनागत ढिलाइप्रति गम्भीर चिन्ता व्यक्त गरेकी हुन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद मिजारले यो आयोजना संसदजस्तो संवैधानिक निकायसँग जोडिएको अत्यन्तै संवेदनशील विषय भएकाले यसको हालको अवस्था चिन्ताजनक भएको बताइन् । निर्माणको केन्द्रमै रहेको, सर्वसाधारणदेखि राष्ट्रपतिसम्मको नजर पर्ने स्थानमा यति धेरै ढिलाइ हुनु आफैँमा गम्भीर प्रश्नको विषय रहेको उनको तर्क थियो । ‘देशका अन्य भूभागमा निर्माणाधीन आयोजनाको अवस्था अझ कस्तो होला?’ भन्ने प्रश्न गर्दै उनले जिम्मेवार को हो भन्नेमा स्पष्ट जवाफ माग गरिन् ।
सांसद मिजारले भनिन्, “सिंहदरबारको हाताभित्र २०७९ मा सम्पन्न गर्नेगरी प्रारम्भ गरिएको संघीय संसद भवन निर्माण आयोजना हालसम्म चौथोपटक म्याद थप्दा पनि ८६ प्रतिशत मात्र प्रगति भएको छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र संसदीय समितिहरूले समेत निरन्तर निरीक्षण गरेको आयोजनाको यस्तो नाजुक अवस्था देख्दा शंका उत्पन्न हुन्छ। यसको जिम्मेवारी कसले लिने हो, यस्को स्पष्ट जवाफ चाहिन्छ ।”
संघीय संसदको स्थायी संरचना निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा शिलान्यास गरेका थिए । योजना अनुसार तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको थियो, तर पटक–पटक म्याद थप्दा पनि लक्ष्यअनुसारको प्रगति नदेखिएको हो । कूल १५१ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको संघीय संसद भवन परिसरमा १२ वटा भवन निर्माण हुने लक्ष्य रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology