काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्युको घटनाबारे गम्भीर अनुसन्धान सुरु गरेको जानकारी दिएका छन्।
उनले भने, "भारत जाने नेपाली विद्यार्थीहरूको एनओसी नलिइ जाने कारण तथ्यांकको अभाव छ।"
सोमबार प्रतिनिधि सभामा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री पन्तले भने, "कति विद्यार्थी किट विश्वविद्यालयमा अध्ययनरत छन् भन्ने आधिकारिक तथ्यांक मन्त्रालयसँग छैन। नेपाल बाहिर अध्ययन गर्न जाने विद्यार्थीले सामान्यतया एनओसी लिई जाने गर्दछन्, तर भारतसँगको खुला सीमाका कारण धेरै विद्यार्थी एनओसी नलिइ पनि अध्ययनका लागि जान्छन्।"
मन्त्री पन्तका अनुसार, यस कारणले गर्दा शैक्षिक संस्थाबाट प्राप्त तथ्यांकलाई मात्र आधिकारिक मान्नुपर्ने अवस्था आएको छ। उनले यो घटनाको सत्यतथ्य पत्ता लगाउन परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर अनुसन्धान अघि बढाइएको र मन्त्रालयका अधिकारीहरूलाई शिक्षक एजेन्सीहरूसँग सम्पर्क गर्न निर्देशन दिइएको बताए।
"दुई विद्यार्थीको मृत्युको घटनाले शंका उत्पन्न गरेको छ, र यसका कारणबारे पत्ता लगाउन शिक्षण संस्थासँग छलफल गरिरहेका छौं," मन्त्री पन्तले भने।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology