बुटवल । बन्द भएको बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने मागसहित नेकपा एकीकृत समाजवादीले सोमबार बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ।
सोमवार समाजवादीका उपमहानगर अध्यक्ष चिनबहादुर गुरुङको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा करिब ७ सय जनालाई रोजगारी दिन सक्ने क्षमता बोकेको बुटवल धागो कारखाना तत्काल सञ्चालनमा ल्याउन जोड दिइएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामी र सेवाग्राहीलाई घन्टौं लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न र व्यवस्थापन सुधार गर्नुपर्ने माग पनि उठाइएको छ।
बुटवलको लक्ष्मीनगर र ज्योतिनगर क्षेत्रमा पहिरो नियन्त्रण, मोतीपुर औद्योगिक क्षेत्र भित्र दशकौँदेखि बसोबास गर्दै आएका स्थानीयवासीहरूको समस्या समाधान गर्दै औद्योगिक विकास अघि बढाउने, भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने व्यवस्था गर्नुपर्नेजस्ता मागहरू समेत ज्ञापनपत्रमा उल्लेख छन्।
बुटवल उपमहानगरका भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार, पारदर्शिता, जवाफदेहीता लगायतका विषय समेटिएको ज्ञापनपत्रबारे प्रतिक्रिया दिँदै नगरप्रमुख पाण्डेले कार्यान्वयन गर्न सकिने मागहरूमा अग्रसरता देखाउने र बाँकी माग सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता जनाए।
‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मूल नारासहित केन्द्रीय निर्देशनअनुसार देशव्यापी अभियानको रुपमा यो ज्ञापनपत्र बुझाउने कार्यक्रम सञ्चालन भएको हो। रुपन्देहीका १६ वटै स्थानीय तहमा सोमबार ज्ञापनपत्र बुझाइएको जिल्ला अध्यक्ष हिराध्वज शाहले जनाएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology