काठमाडौं । सत्ता गठबन्धनभित्र विश्वासको तापक्रम घट्दो छ । मुख्य सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रभावशाली नेताहरूले सार्वजनिक मञ्चबाटै ‘सरकारले काम गर्न नसकेको’, ‘प्रधानमन्त्रीको सयनकक्षसम्म विचौलिया पुगेको' र ‘बिँड तातेपनि ताप्के नतातेको’ जस्ता टिप्पणी गरिरहेका छन् । जसले राजनीतिक वृत्तमा सरकारको आयु कहिलेसम्म भन्ने बहस सुरु भएको छ ।
यही राजनीतिक पृष्टभूमिमा एमाले नेतृत्वले प्रमुख प्रतिपक्ष माओवादी केन्द्रसँग राजनीतिक संवादको ताप बढाउँदै लागेको छ । पछिल्ला केही दिनमा दिनहुँजसो एमाले र माओवादीका शिर्ष नेताहरुबीच भेट भैरहेको छ । कहिले सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) को नाममा त कहिले बजेटबारे छलफलको बहानामा दुई दलका शिर्ष नेताहरुको बाक्लो भेटघाटले राजनीतिक समीकरणमा फेरबदल ल्याउने संकेत गरेको अनुमान गर्नेहरु बढ्दै छन् ।
मंगलवार बिहानै अर्थमन्त्री विष्णु पौडेलले प्रचण्ड निवास खुमलटार पुगेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग गरेको भेटवार्ताले एमाले माओवादी र एमाले विचको दुरी घटाउँदै लागेको बुझ्न सकिन्छ । यसअघि पनि एमाले र माओवादी मिलेर नेकपा निर्माण हुँदा दुवै पार्टीका दोस्रो तहका नेताले महत्वपूर्ण भूमिका खेलेका थिए । यसरी एकताको चाँजोपाँजो मिलाउने काम तत्कालिन समयमा पनि विष्णु पौडेलले गरेका थिए । र, उनीसंगै थिए माओवादी नेता वर्षमान पुन ‘अनन्त’ लगायतका नेताहरु । सोही नेकपा निर्माणकालिन समयको झल्को दिनेगरि पुनः विष्णु पौडेल र वर्षमान पुन सक्रिय भएका छन् । आइतवार टिआरसीको विषयमा छलफल गरिएको भनिएको बैठकमा प्रचण्ड र ओलीसंगै वर्षमान पुन समेत सहभागी थिए ।
आइतवारको ओली–प्रचण्ड भेटपछि सोमवार प्रतिनिधि सभा वैठकमा समेत उनीहरु बिच हार्दिकता देखिएको थियो । प्रचण्डले रोष्टममा उभिएर सरकारको काम कारवाहीसंगै नीति तथा कार्यक्रमबारे चर्को आलोचाना गरे । तर रोष्टमबाट ओर्लिएका प्रचण्डलाई ओलीले हार्दिकता देखाए ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पटक–पटक सरकारलाई साथ दिने अभिव्यक्ति दिए पनि, पार्टीभित्र र संसदीय दलमा त्यो धारणा यथावत् छैन । तर सार्वजनिक मञ्चमा बोलेजस्तो सहज भने ओली–देउवा सम्बन्ध छैन । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयले दुई नेताको सम्बन्ध चिस्याउदै लगेको छ । गभर्नरमा कांग्रेस निकटकालाई नियुक्ति गर्ने सहमति एमाले–कांग्रेसले गरेपनि एमाले गभर्नर सहजै छोड्ने पक्षमा छैन । देशको सम्पूर्ण अर्थतन्त्रको नियमन र नियन्त्रण गर्ने राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयले नै सत्ता गठबन्धनमा चिसो पसेको चर्चा राजनीतिक वृत्तमा छ ।
यसैविचमा कांग्रेसका प्रभावशालि नेता प्रकाश शरण महतले विद्युत प्राधिकरणमा एमाले निकटलाई नियुक्ति गरिएपछि गभर्नर स्वतः कांग्रेसले पाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् । उनको यो भनाईलाई आइतवार साँझ प्रधानमन्त्री ओलीलाई भेट्न गएका कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिको डेटलाईन मागेका समाचारहरुले समेत पुष्टि गर्छन् । भेटमा प्रधानमन्त्री ओलीले देउवालाई बैशाख २५ गते बस्ने मन्त्रीपरिषद् बैठकबाट गभर्नरको विषय टुङ्गाउने भनि आश्वस्त पारे । तर पछिल्ला राजनीतिक घटनाक्रमले उक्त आश्वासन प्रति आशंका पैदा गरिदिएको कांग्रेस नेतृत्वको बुझाई छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology