काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका चिकित्सकहरू विदेशिने क्रम तीव्र हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३औं स्थापना दिवस समारोहमा बोल्दै उनले स्वास्थ्य सेवामा प्रगति हुँदै गइरहँदा समेत चिकित्सकले पर्याप्त अवसर नपाएर विदेशिनु दुःखद भएको बताए ।
पौडेलले भने, ‘नेपालमै स्तरिय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने कुरा मैले आफैँले अनुभव गरेको छु । तर, सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको गुनासो आइरहेको छ। यसको परिणाम चिकित्सक विदेशिने क्रममा देखिन्छ, जुन चिन्ताको विषय हो ।’
उनले यस्तो अवस्थालाई रोक्न सम्बन्धित पक्षहरू गम्भीर भएर अघि बढ्नुपर्ने बताए । स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकताको प्रत्याभूति संविधानले नै सुनिश्चित गरिसकेको उल्लेख गर्दै उनले त्यसको मर्मअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच सुनिश्चित गर्न र सेवाको गुणस्तरमा अझ सुधार ल्याउन ध्यान केन्द्रित गरिनुपर्ने धारणा राखे ।
राष्ट्रपतिले देशमै दक्ष र विज्ञ चिकित्सक उत्पादन हुनु सुखद पक्ष भएको बताए। तर, राज्यले गरेको लगानीको उचित उपयोग नहुँदा स्वास्थ्य प्रणाली नै कमजोर हुने जोखिम पनि रहेको संकेत गरे ।
उनको भनाइमा, “राष्ट्रले दक्ष चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको मर्मअनुसार नागरिक हितका लागि हो । यो लगानीको सदुपयोग हामी यहीँ, देशमै गर्न सक्ने अवस्था बनाइनुपर्छ ।”
राष्ट्रपति पौडेलले देशको स्वास्थ्य र शिक्षामा पछिल्ला वर्षहरूमा गुणात्मक सुधार भएको उल्लेख गरे। तर सुधारको प्रभाव नागरिक तहसम्म समानरूपमा पुगेको छैन भन्ने यथार्थ पनि स्वीकार गरे ।
स्वास्थ्य सेवाको गुणस्तर, जनशक्तिको उपयोग र सेवामा समान पहुँचलाई एकैसाथ जोडेर अघि नबढिए समग्र प्रणालीमा नै असन्तुलन आउन सक्ने उनको टिप्पणी थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology