काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको कारण नभएको बताएका छन् ।
मंगलवार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद कार्यक्रममा बोल्दै देउवाले गभर्नर नियुक्तिको विषयमा राष्ट्र बैंकभित्रैको समस्या मुख्य कारण भएको उल्लेख गरे। उनले प्रधानमन्त्री ओली गभर्नर पद काँग्रेसलाई दिने पक्षमै रहेको बताए।
उनको भनाइमा, "उहाँ (ओली) ले गभर्नर काँग्रेसलाई दिने पक्षमा हुनुहुन्छ। उहाँले त्यसमा कुनै गाह्रो गर्नुभएको छैन, सहयोग नै गर्नुभएको छ। यो समस्या राष्ट्र बैंकभित्रकै हो।"
देउवाले सत्ता गठबन्धनमा समेत कुनै समस्या नरहेको दाबी गरे। उनले वर्तमान निर्वाचन प्रणालीमा एकल बहुमत सम्भव नहुने भएकाले गठबन्धन अपरिहार्य हुने तर्क राखे। “कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ। हाम्रो पार्टी सबैभन्दा ठूलो छ, तर बहुमत छैन। त्यसैले कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्छ,” उनले भने।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको गठबन्धनमा कुनै खालको असमझदारी नरहेको उनले बताए। “उहाँले गठबन्धनमा कुनै समस्या सिर्जना गर्नुभएको छैन,” देउवाले प्रष्ट पारे।
कार्यक्रममा देउवाले वर्तमान सरकारले विकास निर्माणका क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने नीति लिएको र त्यसअनुसार अध्यादेशमार्फत कानुन निर्माणसमेत गरिएको दाबी गरे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology