काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले नेपाली भाषाको उचाइ घटाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो गुनासो पोखेका हुन् ।
कार्यक्रमका क्रममा उनले नेपाली भाषामा सम्मानार्थी शब्दहरूको प्रचुरता रहेको तर अहिलेका मिडियाले तल्लो स्तरको भाषा प्रयोग गर्ने प्रवृत्ति बढेको बताए । 'नेपाली भाषा विश्वकै धनी भाषा हो,' उनले भने, 'अंग्रेजीको नक्कल गरेर नेपाली भाषाको कद घटाउनु हुँदैन ।'
उनले नेपाली संस्कार र संस्कृति अनुसार सम्मानको भाषा प्रयोग गर्नुपर्नेमा जोड दिए । 'हजुरबुबा र नातिका लागि एउटै भाषा प्रयोग गर्नु हुँदैन,' उनले भने, 'हाम्रो भाषामा रहेको सम्मानको परम्परा जोगाउन जरुरी छ ।'
प्रधानमन्त्री ओलीले भाषिक आन्दोलनको नेतृत्व गर्दै आएको गोरखापत्रको योगदानको चर्चा गर्दै 'राष्ट्रपतिले भन्नुभयो' भन्ने वाक्यांशलाई गलत भाषिक प्रयोगको उदाहरणका रूपमा उल्लेख गरे । उनले राजा हुँदा प्रयोग हुने सम्मानजनक शब्दावलीलाई वर्तमानमा पनि कायम राख्नुपर्ने धारणा राखे ।
उनले भने, ‘अहिले पनि हाम्रो भाषिक आन्दोलनलाई बचाउने कुरामा गोरखापत्र अगाडि छ । मैले राम्रोसँग याद गरेको छैन, राष्ट्रपतिले भन्नुभयो भन्छ कि भने भन्छ । यो नेपाली भाषा होइन । राजा हुँदा हेर्दैनथे, राजा नजर गर्थे, हाम्रै पत्रपत्रिकामा हेर्नुपर्छ, राजा हुँदा हिँड्दैनथे, सवारी हुन्थ्यो । खाँदैनथे, ज्यूनार हुन्थ्यो । बस्दैथे, आराम गर्थे । सुन्दैनथे, श्रवण हुन्थ्यो । राजतन्त्र फाल्यौँ भनेपछि जनताको छोराछोरी किन मान्ने ? यिनलाई सम्मान किन गर्ने ? यु, यु भनेपछि हजुरबुबा पनि भयो नाति पनि भयो । त्यो पो नक्कल गर्नुपर्छ हाम्रोमा भनेर । जो भाषामा गरिब छ, त्यसले हाम्रो भाषामा उचाइ छुन सकेन भनेर हामीले कद घटाउने भाषाको ?’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology