काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक नोट बाहेक अन्य सबै सुरक्षाका सामग्री अब नेपालमै छाप्न सकिने व्यवस्था सुरु भएको बताएका छन्। गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नोटबाहेकका सबै छपाई सामग्री उत्पादन गर्न सक्ने प्रिन्टिङ प्रेसको व्यवस्था भइसकेको जनाए।
मन्त्री गुरुङका अनुसार, बैंक नोटबाहेकका सबै सुरक्षाका सामग्रीहरू नेपालमै छाप्न सकिने गरी प्रिन्टिङ प्रेसको व्यवस्थापन भइसकेको छ। उनले भने, 'म्यानपावरको हिसाबले व्यवस्थापन गरेर, वित्तीय संरचना मिलाएर हामी यो काम गर्दैछौँ। अबदेखि यस्ता सामग्री छाप्नका लागि विदेश जानु पर्दैन।'
उनका अनुसार, पासपोर्टलगायत अन्य सुरक्षाका सामग्री छपाईका लागि अब विदेशी कम्पनीमा भर पर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ। मन्त्रालयले यस कामलाई प्राथमिकताका साथ अघि बढाएको उनले बताए।
मन्त्री गुरुङले चलचित्र विकास बोर्डको पुरानो ऐन विस्थापित गरी नयाँ ऐन निर्माण प्रक्रिया सुरु भएको जानकारी दिए। उनका अनुसार, नयाँ ऐन दर्ता भइसकेको छ र पास भएपछि छिट्टै कार्यान्वयनमा आउनेछ। चलचित्र विकास बोर्डको आफ्नै भवन निर्माणको काम पनि अघि बढिरहेको छ।
उनले चलचित्र क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै, राजस्व आर्जनको महत्त्वपूर्ण क्षेत्रका रूपमा स्थापित गर्ने योजना रहेको स्पष्ट पारे। ‘चलचित्र विकास बोर्डलाई कोमाबाट बाहिर निकालेर काम गर्ने ठाउँमा पुर्याएका छौँ,’ उनले भने, ‘अब यो क्षेत्रलाई उद्योगका रूपमा विकास गर्ने योजना मन्त्रालयको प्राथमिकतामा छ।’
मन्त्री गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य र मान्यता बचाउन गोरखापत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले गोरखापत्रलाई जनताको हकहित सुनिश्चित गर्न प्रभावकारी रूपमा अघि बढ्न आग्रह गरे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology