काठमाडौं । नेपालमा सबैभन्दा धेरै नयाँ कुष्ठरोगका बिरामी मधेस प्रदेशमा भेटिएका छन्। काठमाडौंमा बिहीबार भएको कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले यो जानकारी दिएका हुन्। उनका अनुसार मधेस, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः कुष्ठरोगको उच्च भार रहेको छ।
डा. देवकोटाले भने, "सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामी मधेस प्रदेशमा देखिएका छन्। यो कुल केसको एक तिहाईभन्दा बढी हो। दोस्रो धेरै केस लुम्बिनी प्रदेशमा रहेका छन्, जहाँ कुल केसको एक चौथाइभन्दा बढी बिरामी छन्।"
आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म नयाँ फेला परेका २ हजार ४ सय ७२ कुष्ठरोगीहरुमध्ये महिलाको संख्या १ हजार ४२ रहेको छ। १४ वर्षमुनिका बिरामी १ सय ३६ जना रहेको सचिव देवकोटाले बताए।
उनका अनुसार, कुष्ठरोग निवारणका लागि रोगको प्रकोप दर एकभन्दा कम हुनुपर्छ। अर्थात्, प्रति १० हजार जनसंख्यामा १ जना भन्दा कम बिरामीको अवस्था हुनुपर्छ। आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार राष्ट्रिय स्तरमा कुष्ठरोगको प्रकोप दर ०.९२ प्रतिशत रहेको छ।
तर जिल्ला तहमा ७७ जिल्लामध्ये १८ जिल्लामा प्रकोप दर १ भन्दा माथि रहेको छ। ४८ जिल्लामा प्रकोप दर १ भन्दा कम रहेको छ भने ११ जिल्लामा कुनै पनि नयाँ बिरामी फेला परेका छैनन्।
डा. देवकोटाका अनुसार, नयाँ बिरामीहरुमध्ये १ हजार ९ सय ७७ जनामा मल्टी ब्यासिलरी लेप्रोसी देखिएको छ। उनले पहिचान गरिएका सबै बिरामीहरुको उपचार भइरहेको बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology