देवदह । प्रविधिको तीव्र विकाससँगै साइबर अपराध पनि बढिरहेको छ । सामाजिक सञ्जालको प्रयोगले जीवनलाई सहज बनाए पनि यसको दुरुपयोगले समाजमा अनेकौँ चुनौतीहरू थपिरहेका छन् । यस्ता चुनौतीलाई सामना गर्न देवदहको खैरेनी प्रहरी चौकीले साइबर अपराध न्यूनीकरण अभियान सुरु गरेको छ ।
अभियानको पहिलो चरणअन्तर्गत बिहीवार देवदह-७ स्थित देवदह इङलिस बोर्डिङ स्कुलमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । खैरेनी प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक एक्क बहादुर नेपालीले सामाजिक सञ्जालमार्फत हुने अपराध र सामाजिक ठगीका घटनाबारे विद्यार्थीहरूलाई चेतना दिए ।
"समाजलाई विखण्डित गर्ने खालका सामाजिक अपराध वृद्धि भएको छ । विशेष गरी युवापुस्तालाई यसको प्रत्यक्ष प्रभाव परिरहेको छ," निरीक्षक नेपालीले भने, "त्यसैले साइबर अपराधको न्यूनिकरणका लागि हामीले विद्यालयस्तरबाट नै अभियान सुरु गरेका हौँ ।"
निरीक्षक नेपालीले विद्यार्थीहरूलाई अनलाइन सुरक्षाका उपायबारे अवगत गराउँदै भने, "जसरी वास्तविक दुनियाँमा सचेत रहनुपर्छ, त्यसरी नै भर्चुअल दुनियाँमा पनि सजग रहन आवश्यक छ ।" उनले अनलाइन ठगीको सिकार नबन्न, सामाजिक सञ्जालमा व्यक्तिगत विवरण नदिन र शंकास्पद सामग्रीहरूलाई शेयर नगर्न विशेष आग्रह गरे ।
यसअघि पनि खैरेनी प्रहरी चौकीले देवदहका ३२ वटा विद्यालयमा बाल विवाह न्यूनीकरण र लागूऔषध नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिसकेको छ । यस्ता कार्यक्रमले विद्यार्थीहरूमा चेतना अभिवृद्धि हुनुका साथै समाजमा सकारात्मक प्रभाव पारिरहेको स्थानीयहरूको भनाइ छ ।
"साइबर अपराध नियन्त्रणका लागि प्रहरीको भूमिका मात्र पर्याप्त हुँदैन। समुदायको सक्रिय सहभागिता आवश्यक छ। त्यसैले विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकलाई समेत सहभागी गराएर यो अभियानलाई अघि बढाएका छौँ," निरीक्षक नेपालीले थपे ।
खैरेनी प्रहरी चौकीको यो अभियान देवदहका सामुदायिक र संस्थागत विद्यालयहरूमा क्रमिक रूपमा सञ्चालन गरिने योजना छ । विशेष गरी किशोरवयका विद्यार्थीहरूमा अनलाइन सुरक्षाबारे बुझाउनका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology