काठमाडौं । भारत र पाकिस्तानबीचको युद्ध तनावमा अमेरिकाले दुवै देशलाई युद्ध रोक्न आग्रह गरेको समाचारले कूटनीतिक वृत्तमा नयाँ बहस सुरु गरेको छ । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले हिंसा, सैन्य कारबाही र युद्धले समाधान नदिने भन्दै युद्ध रोक्न स्पष्ट अपिल गरेकी छिन् ।
ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा भनिन्, “हिंसा, सैन्य कारबाही र युद्ध रोकिनुपर्छ, अमेरिकाको सन्देश यही हो ।” यस्तो स्पष्ट सन्देशले अमेरिकाले भारत र पाकिस्तानबीचको तनावमा कूटनीतिक पहल गर्ने चाहना राखेको देखिन्छ । युद्धबाट समाधान निस्कँदैन भन्ने अमेरिकाको धारणा मध्यपूर्वमा भएको विगतका संघर्षहरूबाट प्रेरित देखिन्छ ।
पत्रकारहरूले सोधेका प्रश्नमा ट्यामी ब्रुसले कुनै पनि प्रकारको मध्यस्थता पुष्टि नगरेको र अस्वीकार पनि नगरेको बताएकी छन् । यसबाट अमेरिकाले खुला रूपमा मध्यस्थता गर्ने घोषणा नगरे पनि कूटनीतिक वार्ताका ढोकाहरू खुला राखेको संकेत दिन्छ । जब सम्बन्धित देशका नेताहरू वार्तामा हुन्छन्, त्यसको विवरण सार्वजनिक नगर्ने नीति अमेरिकी कूटनीतिक सन्तुलनको एउटा पाटो हो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफसँग फोनमा कुराकानी गरेका छन् । यस क्रममा तनाव कम गर्न र प्रत्यक्ष वार्तामा जोड दिएका छन् । यसले अमेरिकाले दुवै देशलाई संवादको माध्यमबाट समाधान खोज्न दबाब दिएको बुझ्न सकिन्छ ।
अमेरिकाले भारत र पाकिस्तानबीचको तनावमा प्रत्यक्ष मध्यस्थता गर्ने तयारी गरेको स्पष्ट संकेत छैन । तथापि, कूटनीतिक संवादलाई प्रोत्साहन गर्दै युद्ध रोक्न आग्रह गर्नुले अमेरिका आफुलाई विश्वशान्तिको पक्षमा उभिएको देखाउन चाहेको पुष्टि गर्छ । यो एकातिर अमेरिकाको भारत र पाकिस्तानबीच सन्तुलनकारी भूमिकामा देखाउने गर्ने रणनीति हुन सक्छ भने अर्कोंतिर चीनका दुई ठुला छिमेकी मुलुकमा आफ्नो उपस्थिति देखाएर चीनलाई दबाबमा राख्ने रणनीति पनि हुन सक्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology