देवदह । देवदह खानेपानी तथा सरसफाई उपभोक्ता महासंघले नाला निर्माण गर्दा भुईं ढलान नगर्ने नीतिगत व्यवस्था गर्न माग गरेको छ । महासंघको बैशाख २३ गते बसेको बैठकले नाला निर्माणको क्रममा भुईं ढलान नगर्दा खानेपानी पुनः भुईंमा सोसिन सक्ने भएकोले यस्तो व्यवस्था आवश्यक रहेको निष्कर्ष निकालेको अध्यक्ष गुमानसीं कुँवरले जानकारी दिए ।
बैठकले संघ, प्रदेश र स्थानीय तहका भौतिक योजना कार्यान्वयन गर्दा खानेपानीका पाइपमा क्षति पुगेको ठहर गर्दै निर्माण पक्षले क्षतिपूर्ति दिने व्यवस्था हुनुपर्ने माग समेत गरेको छ । पाइपलाइनमा हुने क्षति रोक्ने नीतिगत व्यवस्था गर्न देवदह नगरपालिकालाई पत्राचार गर्ने निर्णय गरेको अध्यक्ष कुँवरले बताए ।
यसैगरी, पानी परीक्षण ल्याबलाई थप परिस्कृत बनाउन र कर्मचारी व्यवस्थापन गर्न बजेट माग गर्ने, महासंघको अधिवेशन आगामी २०८२ असार मसान्तभित्र सम्पन्न गर्ने तथा रेहरा, सरनटाडी, मायादेवी, चरंगे भूमिगत, टटेरा खानेपानी लगायतका योजनाका लागि आवश्यक सामग्रीको माग गर्ने निर्णय पनि महासंघले गरेको छ ।
बैठकले महासंघमा हालसम्म आवद्ध नभएका संस्थाहरूलाई आवद्ध गराउन पहल गर्न, विधान पुनर्लेखन तथा आवश्यक सहजीकरणका लागि देवदह नगरपालिकासँग समन्वय गर्ने तथा स्रोत पुनर्भरणका लागि रिजर्भ पोखरी निर्माणको पहल गर्नुपर्ने निर्णय गरेको छ ।
खानेपानी संस्थाका सञ्चालक, सदस्य र कर्मचारीलाई समय सापेक्ष रुपमा तालिम तथा सेमिनारको व्यवस्था गर्न बजेट माग गर्ने तथा नगरपालिकामा खानेपानी तथा सरसफाई शाखा आवश्यक रहेकोले त्यसको लागि पहल गर्ने महासंघले जनाएको छ ।
देवदहमा अस्तित्वमा रहेका १६ वटा खानेपानी संस्था छन । जसमध्ये केही खानेपानी संस्था देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासंग मर्जभएका छन भने केही हुने तयारीमा छन । अस्तित्वमा रहेका खानेपानी संस्था मध्ये देवदह खानेपानी सबैभन्दा ठुलो संस्था हो । यसका पाँच हजार दुई सय बढी उपभोक्ता रहेका छन् । त्यसैगरी भलुही खानेपानी, केरवानी खानेपानी, चरंगे भूमिगत खानेपानी, मायादेवी खानेपानी, टटेरा खानेपानी यहाँका तुलनात्मक रुपमा ठुला खानेपानी संस्था हुन् ।
देवदह नगरपालिकाले खानेपानी संस्थाहरुलाई मर्ज गर्ने नीति लिएको छ । नगर प्रमुख ध्रुवप्रसाद खरेलले सार्वजनिक मन्चबाटै खानेपानी संस्थाहरु मर्ज गर्नुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन् ।
कुन खानेपानी संस्थाका माग के छन् ?
(१) रेहरा खानेपानी देवदह-११ : एक थान बोर
(२) सरनटाडी खानेपानी देवदह-६ : एक थान बोर (पाईपलाईन विस्तार गर्नुपर्ने)
(३) मायादेवी खानेपानी देवदह-४ : एक थान जेनरेटर
(४) चरंगे भूमिगत खानेपानी देवदह-१० : एक थान बोर
(५) टटेरा खानेपानी देवदह-३ : एक थान समरसीक्ल पम्प
(६) पारी चरंगे खानेपानी देवडह-१०: पम्प बोरदेखि ओभरहेड टंकीसम्मको लागी पाईपलाईन विस्तार
(७) देवदह खानेपानी, देवदह-७ : ल्याव व्यवस्थापनका लागी साम्रगी र एक थान बोर
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology