काठमाडौँ । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ। मन्त्रालयले एक विज्ञप्तिमार्फत हालै विकसित घटनाक्रमको सन्दर्भमा नेपालीहरूको सुरक्षा र हित सुनिश्चित गर्न सरकार पूर्णरूपमा सचेत रहेको बताएको छ।
पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका विद्यार्थीहरू र नेपाली नागरिकसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको जनाएको छ। मन्त्रालयले कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा अभिभावकले इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ।
यस्तै, भारतमा रहेको नेपाली दूतावासले नेपालीलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ। दूतावासले एक विज्ञप्तिमार्फत संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न आग्रह गरेको हो।
भारतको जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै दूतावासले आवश्यक सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ। दूतावासले भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनको पालनासमेत गर्न भनेको छ। साथै, नेपाली नागरिकले नेपाली दूतावास र महावाणिज्यदूतावास कोलकातामा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology