देवदह । २५६९ औँ बुद्ध जयन्तीको अवसरमा देवदहमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । लुम्बिनी विकास कोषको देवदह सम्पर्क कार्यालय भवानीपुरमा आइतवार आयोजित आखाँ शिविरमा १५० जनाले सेवा लिएका छन् ।
सम्पर्क कार्यालय प्रमुख दामोदर सापकोटाका अनुसार आखाँ जाँच गरेका मध्ये २६ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । ६० जनालाई मौसमी एलर्जी देखिएको छ भने अन्यमा उमेरगत हिसाबले आउने सामान्य देखिएको छ ।
मोतियाबिन्दु देखिएका विरामीलाई अपरेशन गर्न चिकित्सकले सुझाएका छन् । उनीहरुलाई उपचार गर्दा सामान्य ल्याब परिक्षण शुल्क मात्र लाग्ने र अपरेशन तथा औषधी निशुल्क उपलब्ध गरिने शिविरमा प्राविधिक सहयोग गरेको संस्था रण अम्बिका शाह आखाँ अस्पताल भैरहवाले जनाएको छ । अस्पतालका डा. शिला बन्जाडेको टिमले आँखा परीक्षण गरेको थियो ।
शिविर अघि आयोजित औपचारिक कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बुद्ध जयन्ती भव्य रुपले मनाउन आग्रह गरे । देवदह र बुद्धको सम्बन्धबारे चर्चा गर्दै कोषाध्यक्ष भट्टराईले देवदह बुद्ध मावली समेत भएको हुनाले लुम्बिनीले देवदहलाई प्राथमिकतामा राखेको बताए । उनले लुम्बिनी सहित देवदह, तिलौराकोट र रामग्राममा समेत विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाउन लागिएको बताए ।
कार्यक्रम बुद्ध मावली क्षेत्र विकासका अध्यक्ष लिलाबल्लब भट्टराईको अध्यक्षता र सम्पर्क कार्यालय प्रमुख दामोदर सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology