बुटवल । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालको तेस्रो रुपन्देही जिल्ला सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले गोविन्द खरेलको अध्यक्षतामा ५३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा दिलीप प्रजापति र कृष्ण ढुंगाना चयन भएका छन्। सचिवमा सन्दिप यादव रहेका छन् भने सह-सचिवहरूमा अल्ताफ खाँन, मनिष जिसी, बलिराम सहानी, जीवन शर्मा र ओमप्रकाश गुप्ता चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी राजेन्द्र गौंडले पाएका छन्।
नवनिर्वाचित अध्यक्ष खरेलले वाईसिएल रुपन्देहीलाई युवा नेतृत्व विकास, संगठन विस्तार र सामाजिक रूपान्तरणका एजेन्डालाई प्राथमिकता दिँदै व्यवस्थित र सक्रिय बनाउने प्रतिवद्धता जनाएका छन्।
कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज सोनिया यादवले वाईसिएलको गौरवशाली इतिहासलाई स्मरण गर्दै संगठनलाई सशक्त र युवामैत्री बनाउन आवश्यक रहेको बताइन्। उनले युवाहरूलाई पार्टीको मेरुदण्डको रूपमा भूमिका निर्वाह गर्न आग्रह गरिन्।
माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले वाईसिएलको त्याग र योगदानलाई स्मरण गर्दै अहिलेको पुस्ताले संगठनात्मक एकता र वैचारिक स्पष्टतामा ध्यान दिनुपर्ने बताए।
वाईसिएल नेपालका केन्द्रिय सचिव माधव बस्नेतले देशको परिवर्तनमा युवाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै वाईसिएललाई फेरि पनि लोकप्रिय र जिम्मेवार संगठनको रूपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे।
वाईसिएल रुपन्देहीका अध्यक्ष केशव कुँवरले युवाहरूका हक, अधिकार र अवसर सुनिश्चित गर्दै संगठनलाई वैचारिक रूपले अगाडि बढाउनु पर्नेमा जोड दिए। “वाईसिएल फेरि एकपटक राता सिपाही बनेर देश र जनताको पक्षमा अग्रसर हुनेछ,” उनले भने।
वाईसिएल रुपन्देहीको तेस्रो जिल्ला सम्मेलनले नयाँ नेतृत्वसँगै संगठनलाई युवामैत्री बनाउँदै सशक्त रूपमा अघि बढाउने संकल्प गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology