काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गरेलगत्तै उनले पाँच सय र एक हजार दरका नयाँ नोट छपाइको निर्णयमा हस्ताक्षर गरे।
गभर्नरको जिम्मेवारी सम्हाल्नासाथ डा. पौडेलले मौद्रिक नीति र सरकारको वित्त नीति अलग कुरा भएको प्रस्ट पारे। उनले मौद्रिक नीतिले वित्तीय नीतिमा अवरोध गरे सुधार गर्दै अघि बढिने बताए। पहिलो प्राथमिकता मौद्रिक नीतिले तोकेको दिशालाई सफल बनाउने र दोस्रो प्राथमिकता सुपरीवेक्षणमा रहने उनको भनाइ थियो। बैंकमा सर्वसाधारणको ठूलो रकम रहेको उल्लेख गर्दै उनले त्यसको सुरक्षालाई प्रमुख प्राथमिकतामा राख्ने बताए।
उनले भने, “राष्ट्र बैंकको भूमिका सबैलाई थाहा छ। हामी दुई कुरामा केन्द्रित हुन्छौं—मौद्रिक नीतिलाई सफल बनाउने र सुपरीवेक्षणलाई बलियो बनाउने। धेरै नियम बनाएर मात्रै हुँदैन, कार्यान्वयन र निगरानी चाहिन्छ। बैंकको मुख्य काम के हो भन्ने सबैलाई थाहा छ। बैंकको क्षमता बढाउनु र सर्वसाधारणको पैसा सुरक्षित राख्नु हाम्रो दायित्व हो। ल्याण्डिङ पोलिसी राम्रो ल्याउने, त्यसको कार्यान्वयन कस्तो छ भन्ने मूल्यांकन गर्ने, अनि निरन्तर अनुगमन गर्ने काम अघि बढाउँछौं।”
नीति निर्माणप्रति आफू कठोर निर्णयकर्ता होइन भन्ने संकेत गर्दै गभर्नर पौडेलले सबै सरोकारवालासँग छलफल गरेर मात्र मौद्रिक नीति तय गरिने स्पष्ट पारे। “म पहिले नै नीति ल्याएर सबैलाई जबर्जस्ती लागू गराउने पक्षमा छैन। छलफलपछि मात्र नीतिको दिशा निर्धारण हुन्छ,” उनले भने।
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा अस्वीकृत हुनुको विषयमा उनले यसलाई आन्तरिक प्रक्रिया मात्र भने।
गभर्नरको रूपमा डा. पौडेलले राष्ट्र बैंकलाई नीतिगत स्थायित्व, प्रभावकारी नियमन र बलियो सुपरीवेक्षणतर्फ उन्मुख गराउने संकेत दिएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology