काठमाडौं । हाल देशभर मौसममा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै कारण कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम रहनेछ। विशेषगरी कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य स्थानका एक–दुई ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। उच्चपहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावनासमेत रहेको मौसमविद्हरूले बताएका छन्।
आज राति पनि मौसम धेरै ठाउँमा बदली नै रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र उच्च पहाड तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना कायम रहनेछ।
मौसममा यस्तै प्रकृतिको सक्रियताका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology