काठमाडौं । सरकार शहरी विकास ऐन ल्याउने तयारीमा लागेको छ। शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले अहिले नीति तयार भइसकेको र अब छिट्टै ऐनको प्रारूप सार्वजनिक हुने जानकारी दिएका छन्।
उनका अनुसार संघीय संरचनामा पुरानो नगर विकास ऐनको औचित्य समाप्त भइसकेको र तीन तहकै सरकारलाई आधार दिने गरी नयाँ ऐन ल्याउने तयारी गरिएको हो।
नयाँ ऐनमा निजी क्षेत्रलाई ल्यान्ड पुलिङको अधिकार दिने व्यवस्था गरिनेछ। “संसारभर निजी क्षेत्रले ल्यान्ड पुलिङ गर्छ, सरकार नियमनमा मात्र सीमित हुन्छ,” सचिव सिग्देलले भने, “त्यसैले नेपालमा पनि निजी क्षेत्रलाई यो जिम्मा दिने तयारी भइरहेको छ।” उनका अनुसार, सहरी विकास विधेयकको प्रारूप तयार भइसकेको छ र यसको केही प्रावधान भूमि व्यवस्था मन्त्रालयसँग समन्वय गरेर अघि बढाइँदै छ।
शहरी विकाससँग सम्बन्धित विषयमा परामर्श र छलफल भइरहेका छन्। भूमि वर्गीकरणमा ढिलाइ हुनु, स्थानीय तहलाई जिम्मेवारी दिँदा आवश्यक क्षमता नहेर्नुजस्ता कारणले समस्या देखिएको सिग्देलको भनाइ छ। “पहिला भूमि वर्गीकरण ऐन त आयो, तर व्यवस्थित रूपमा वर्गीकरण नगरेसम्म सहरी अवधारणा अघि बढाउन गाह्रो हुन्छ,” उनले भने।
संयुक्त आवास सम्बन्धी पुरानो ऐन अस्पष्ट रहेको, त्यसले घरजग्गा व्यवसायीलाई समस्या भोग्नुपरेको भन्दै सचिव सिग्देलले त्यो ऐनलाई समेत संशोधन गर्ने तयारी भइरहेको जानकारी दिए। फोहोरमैला व्यवस्थापन र भवन निर्माणसम्बन्धी कानुनसमेत परिमार्जन गरिने मन्त्रालयको तयारी रहेको उनले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology