काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबिचमा एकता भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपाका गंगानारायण श्रेष्ठबीच सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदान भएसँगै दुवै दलबीच एकता भएको छ ।
तत्कालीन अध्यक्ष महिन्द्र राय यादव माओवादीसँगको एकता प्रक्रियाबाट पछि हटेपछि श्रेष्ठले आइतबार आफ्नो नेतृत्वमा केन्द्रीय समिति बैठक राखेर पार्टी पुनर्गठन गर्दै माओवादीसँग एकता गर्ने गरेका हुन् ।
नेसपा पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट विभाजित भएको पार्टी हो ।
गत निर्वाचनमा महिन्द्र राय यादव नेतृत्वको नेसपाका उम्मेदवार माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचन लडेका थिए र महेन्द्र रायले सर्लाही-२ बाट चुनाव जितेका थिए ।
पार्टी एकतासंगै गंगानारायण श्रेष्ठ नेकपा माओवादी केन्द्रको सचिव बनेका छन् ।
बागमती प्रदेशका सांसद समेत रहेका श्रेष्ठले माओवादी केन्द्रमा सचिवको जिम्मेवारी पाएका हुन् ।
नेसपाका अध्यक्ष महिन्द्र राय यादवले तत्काल माओवादी केन्द्रसँग एकता गर्न विभिन्न शर्त राखेपछि सहअध्यक्ष रहेका श्रेष्ठले बहुमत केन्द्रीय सदस्य लिएर माओवादीमा समाहित भएका हुन् ।
पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले डा. बाबुराम भट्टराईलाई जनयुद्धबाट भाग्न नपाउने र जनयुद्धको जिम्मेवारी लिनुपर्ने चेतावनी समेत दिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology