बुटवल । बुटवल उपमहानगरपालिका–११ को होराइजन चोकस्थित मिलीजुली पथमा एकै परिवारका तीन सदस्यको विभत्स हत्या भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार आज बिहान करिब ४ बजेको समयमा भएको सो घटनामा ३१ वर्षीया दिपा बस्याल र उनका दुई सन्तान ७ वर्षीया छोरी स्नेहा बस्याल र ४ वर्षीया नानी बस्यालको ज्यान गएको हो।
स्थानीयको भनाइ अनुसार बिहानैको समय घरेलु हतियार हेम्बर र चक्कु प्रयोग गरी उनीहरूलाई निर्ममतापूर्वक हत्या गरिएको थियो। घटनापछि भाग्ने प्रयासमा रहेका व्यक्तिबारे स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेका थिए। प्रहरीका प्रारम्भिक अनुसन्धानले दिपाका पूर्व श्रीमान् सुजन कोइरालाले हत्या गरेको आशङ्का गरिएको छ। प्रहरीका अनुसार, कोइरालाले पूर्व पत्नी दिपासँग करिब आठ वर्षअघि सम्बन्ध विच्छेद गरेका थिए र त्यसपछि उनले अर्की महिलासँग विवाह गरेका थिए।
अभियुक्त भनिएका सुजन कोइराला यसअघि आफ्नै दाजुको हत्या अभियोगमा जेल परिसकेका व्यक्ति हुन्। केही वर्षअघि संविधान दिवसको अवसरमा आममाफी पाएर उनी जेलमुक्त भएका थिए। समाजमा पुनःस्थापनाको अपेक्षा गरिएका व्यक्ति पुनः हिंसात्मक अपराधमा संलग्न भएको आशङ्काले समाजलाई स्तब्ध बनाएको छ।
हत्या भएको भनिएको घर वरपर तनावपूर्ण शान्ति छ। स्थानीयहरूले तीन जनाको शव एउटै घरभित्र रगताम्य अवस्थामा भेटिएको बताए। दिपा आफ्ना छोरीहरूलाई लिएर होराइजन चोकको मिलीजुली पथमा भाडामा बस्दै आएकी थिइन्।
प्रहरीले घटनास्थलको सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ। शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको छ। अनुसन्धानको शृङ्खला अघि बढाइएको छ भने अभियुक्त भनिएका सुजन कोइरालाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology