देवदह । देवदह–९, भलुहीस्थित न्यू नमुना इङ्लिस बोर्डिङ स्कुलमा गणतन्त्र दिवसको अवसर पारेर वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। नमुना बाल क्लबको आयोजनामा बुधवार सम्पन्न प्रतियोगितामा ४२ जना विद्यार्थीहरू सहभागी भएका थिए।
विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्दै राष्ट्रिय स्तरसम्म प्रतिनिधित्व गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता दुई तह—जुनियर र सिनियर—मा विभाजन गरिएको थियो।
जुनियर समूहतर्फ, "गणतन्त्र दिवस" शीर्षकमा प्रस्तुति दिँदै आर्जु सुनार प्रथम, अनुजा खत्री द्वितीय र कौशिला थारु तृतीय स्थान हासिल गर्न सफल भए।
सिनियर समूहतर्फ (कक्षा ७ देखि १० सम्म), "गणतन्त्रको वर्तमान अवस्था, उपलब्धि र चुनौती" विषयमा प्रतियोगिता सञ्चालन गरिएको थियो। यस समूहमा रितकृति अधिकारी प्रथम र निस्मा न्यौपाने दोस्रो भएका थिए।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै विद्यालयका प्राचार्य चुराबहादुर थापाले विद्यार्थीहरूको अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउँदै विद्यालयले सधैँ साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए। प्राचार्य थापाले विद्यालयले पढाई सङ्गै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिएको बताए।
कार्यक्रममा बोल्दै नमुना बाल क्लबका अध्यक्ष विश्वास अधिकारीले यस्ता गतिविधिबाट विद्यार्थीको प्रतिभा विकासमा ठूलो योगदान पुग्ने बताए।
कार्यक्रम बाल क्लबका अध्यक्ष विश्वास अधिकारीको अध्यक्षता, उपाध्यक्ष आयुष्मान अधिकारीको स्वागत तथा सचिव कुसुम राना र कोषाध्यक्ष सिलु पुनको संयुक्त संचालनमा सम्पन्न भएको थियो।