बुटवल । बुटवलमा सञ्चार क्षेत्रमा क्रियाशील महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न लक्षित कार्यशाला सम्पन्न भएको छ। बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यशाला गणतन्त्र दिवसको अवसर पारेर समापन गरिएको हो।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले गणतन्त्रको मूल मर्मलाई स्मरण गराउँदै गणतन्त्रको विकल्प गणतन्त्र नै रहेको स्पष्ट पारे। महिला पत्रकारको सशक्तिकरणमा यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको भन्दै उनले कार्यक्रमलाई नियमितता दिनुपर्नेमा जोड दिए।
उपप्रमुख सावित्रा देवी अर्यालले महिला पत्रकारको सशक्तिकरणबिनाको समावेशी विकास सम्भव नरहने तर्क प्रस्तुत गरिन्। उनले गणतन्त्रले महिलाको आवाज स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै पत्रकार महिलाहरूका हक–अधिकार सुनिश्चित गर्न बुटवल उपमहानगरपालिकाले प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरिरहेको दाबी गरिन्।
कार्यक्रममा सञ्चार सिद्धान्त, समाचार लेखन, स्रोतसँग संवाद गर्ने कला र डिजिटल सुरक्षाजस्ता विषयमा विज्ञहरूमार्फत प्रशिक्षण दिइएको थियो। कार्यक्रममा पत्रकार महासंघ, प्रेस युनियन, प्रेस सेन्टर, सञ्चारिका समूह, इन्सेकलगायतका संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण क्रियाशील महिला पत्रकार, रुपन्देहीकी कोषाध्यक्ष कमला पाण्डेले गरेकी थिइन् भने सञ्चालन सचिव विन्दु भट्टराईले गरेकी थिइन्।
कार्यशालामा करिब ५० जना महिला पत्रकारको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ। उनीहरू विभिन्न सञ्चार माध्यमहरूमा आवद्ध छन्। कार्यशालाबाट प्राप्त ज्ञान र सीपले आफ्ना पेशागत कार्यमा उल्लेख्य योगदान पुर्याउने सहभागिहरूको निष्कर्ष थियो।
कार्यक्रम क्रियाशील महिला पत्रकार, रुपन्देहीकी अध्यक्ष कल्पना तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका सचिव सि.पी. खनाल, महासंघका सल्लाहकार हरिष ढकाल, प्रेस युनियनकी केन्द्रीय सदस्य रेखा भुषाल, प्रेस सेन्टरकी सदस्य सरु राना, सञ्चारिकाकी प्रदेश अध्यक्ष अमृता अनमोल, रुपन्देही अध्यक्ष मिना ढकाल, निवर्तमान अध्यक्ष भगवती पाण्डेलगायतको उपस्थिति रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology