बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा शनिबार एकैदिन झन्डै ३ सय जनाले रक्तदान गरेर नवस्थापित रक्तसञ्चार केन्द्रको सुरुवात गरेका छन् । रूपन्देही व्यापार संघको एक करोड ५८ लाख २० हजार रुपैयाँको उपकरण सहयोगमा स्थापना गरिएको सो केन्द्रले अब संस्थागत र व्यवस्थित रूपमा रक्तसञ्चार सेवा दिने जनाइएको छ ।
शुभारम्भको अवसरमा २ सय ९७ जनाले रक्तदान गरे । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रक्तदानलाई ‘महादान’ भन्दै सबैलाई निरन्तर संलग्न हुन आग्रह गरे । उनले भने, "रक्तमा लाग्ने शुल्कलाई निःशुल्क बनाउनेतर्फ सरकार अग्रसर छ, तर निजी र सामुदायिक अस्पतालमा कानुनी जटिलता छन, जुन फुकाउनेतर्फ ध्यान दिइरहेका छौँ ।"
मुख्यमन्त्री आचार्यले अस्पतालको सेवा विस्तार, शल्यक्रिया सेवाको चुस्त व्यवस्थापन र प्रदेश सरकारको गौरव आयोजना अन्तर्गत यसलाई प्राथमिकतामा राखिएको बताए । उनका अनुसार, अस्पतालले अब अन्य स्वास्थ्य संस्थाहरूमाझ पनि सहज रूपमा रक्त आपूर्ति गर्न सक्नेछ ।
स्वास्थ्य मन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पताललाई सिङ्गो प्रदेशको स्वास्थ्य तथा आर्थिक केन्द्रका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले अस्पतालको स्तरोन्नति, विशिष्ट सेवा विस्तार तथा निर्माणाधीन भवनहरूका लागि हालसम्म ३ अर्बभन्दा बढी खर्च भइसकेको र अझै ६ अर्बभन्दा बढी लगानी आवश्यक रहेको उल्लेख गरे। उनले आगामी महिनाभित्र एमआरआई मेसिन अस्पतालमा आइपुग्ने जानकारी पनि दिए ।
कार्यक्रममा बोल्दै पूर्वस्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवललाई आर्थिक केन्द्र बनाउने यात्रामा लुम्बिनी प्रादेशिक अस्पताल महत्वपूर्ण आधार भएको बताए । उनले अस्पतालको विकासमा संघीय सरकार र निजी क्षेत्रको साझेदारी अपरिहार्य भएको तर्क गरे ।
अस्पताल विकास समिति अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालले सीमित जनशक्ति र स्रोतसाधनबाट लाखौं जनतालाई सेवा दिइरहेको उल्लेख गर्दै, मापदण्डअनुसार स्रोत सुनिश्चित भएमा सेवा गुणस्तर अझै बढ्न सक्ने बताए ।
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्याल र बुटवल उद्योग वाणिज्य संघ अध्यक्ष हरीप्रसाद अर्याल लगायतले बोलेका थिए ।
मेडिकल सुपरीटेन्डेन्ट डा. इन्द्र ढकाल अस्पतालले हाल ४० लाख जनसंख्याभित्रका साढे ३ देखि ४ लाख जनालाई वार्षिक सेवा दिइरहेको बताए । डा. ढकालले अस्पतालमा आकस्मिक कक्षको विस्तारीकरण, प्रयोगशाला विस्तार, ब्रेस्ट क्यान्सर स्क्यानिङ सेवा र डिजिटल कार्ड प्रणाली लागू गर्ने तयारीबारे पनि जानकारी गराए ।
रूपन्देही व्यापार संघ अध्यक्ष दीपक अधिकारीले रक्तसञ्चार केन्द्र सञ्चालनको सम्पूर्ण जिम्मेवारी अब अस्पतालको काँधमा रहेको बताए । एकैसाथ १ हजार युनिट रगत सङ्कलन गर्न सक्ने क्षमता भएको उपकरण हस्तान्तरण गरिएको जानकारी गराउँदै उनले सामाजिक संघसंस्थाको सहकार्यले मात्रै यसको दीर्घकालीन सञ्चालन सम्भव हुने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology