रुपन्देही । समाजवादी मोर्चा नेपाल, रुपन्देहीले जिल्लाका खोलामा भइरहेको दोहनबिरुद्ध आवाज उठाएको छ ।
मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै मोर्चाले बुटवल, सैनामैना, देवदह, सियारी, तिलोत्तमा, मायादेवी, गैडहवा, रोहिणी, कञ्चनलगायतका स्थानका खोलामा मापदण्डविपरीत ढुङ्गा, गिट्टी, बालुवा उत्खनन भइरहेको जनाएको हो ।
कतिपय क्रसर उद्योगले कानुन मिचेर खोलाबाटै सामग्री उठाउने, घाट गड्डी नगरी सीधै ओसारपसार गर्ने र चोरी निकासी गर्ने कामसमेत भइरहेको मोर्चाको ठहर छ ।
नदि दोहन, अबैध उत्खनन, निकासी र ओसारपसारका काममा सरकारी निकाय, व्यवसायी र केही जनप्रतिनिधिको मिलेमतो रहेको मोर्चाको आरोप छ ।
मोर्चाले अवैध काम तुरुन्त रोक्न र आवश्यक कारवाही गर्न माग गरेको छ । मापदण्डविपरीत प्रयोग भएका गाडी, मेसिन र अन्य साधन खोलाबाट हटाउन र यस विषयमा अनुगमन, नियन्त्रण र कारबाही कडा बनाउन समाजवादी मोर्चाको आग्रह छ ।
विज्ञप्तिमा समाजवादी मोर्चा रुपन्देहीका संयोजक सरद सी, नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक निर्मल जीसी र नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष हिराध्वज शाहले हस्ताक्षर गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology