काठमाडौं । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सरकारसँग भएको सहमति गण्डकी प्रदेश सरकारले कार्यान्वयन नगरे आन्दोलन थप सशक्त हुने चेतावनी दिएको छ ।
संघर्ष समितिका अध्यक्ष विजय बहादुर स्वारले मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलन सशक्त बनाउन देशभरका व्यवसायी, स्वरोजगार, मजदुर र कर्मचारीहरूलाई आह्वान गरेका छन्। उनका अनुसार संघीय सरकारसँग भएको सहमतिअनुसार गण्डकी प्रदेश सरकारले कार्यान्वयन नगरे आन्दोलन भोलिदेखि थप व्यापक बनाइनेछ ।
स्वारको भनाइ छ ‘संघीय सरकारसँग भएको सहमतिलाई गण्डकी प्रदेश सरकारले सहमति अनुसार कार्यान्वयन नगरेमा भोलिदेखि आन्दोलन अझ सशक्त रूपमा अगाडि बढाइने व्यहोरा सम्बन्धित सबै पक्षमा अनुरोध गरिन्छ ।’
आन्दोलनका कार्यक्रम र सरकारसँग भएका सम्झौताबारे जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिने जानकारी पनि संघर्ष समितिले दिएको छ ।
यसबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहमति कार्यान्वयनका लागि पत्र पठाइसकेको जनाएको छ। सो पत्रबारे गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल जारी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology