देवदह । देवदह नगरपालिका पूर्णखोप सुनिश्चितता दिगोपना तथा पूर्ण संस्थागत प्रसुती सेवा युक्त पालिका घोषित भएको छ । बुधवार एक कार्यक्रमका विच जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईले प्रमाणपत्र प्रदान गर्दै नगरपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना तथा पूर्ण संस्थागत प्रसुती सेवा युक्त पालिका घोषित गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख चापागाईले घोषणासँगै नगरपालिकामा थप जिम्मेवारी बढेको बताए । ‘यसलाई दिगो बनाउन तपाईहरु स्वास्थ्य क्षेत्रमा खटिनेहरुलाई त चुनौती पनि थपिएको छ ।’ उनले भने, ‘यसलाई नगरपालिकाको सम्पूर्ण टिम र नगरवासीले समेत अपनत्व लिएर आगामी बर्षहरुमा समेत सुनिश्चितता हुनेगरी काम गर्नुहोला ।’
चापागाईले एउटा व्यक्तिलाई पूर्ण खोप दिँदा ४० हजार रुपैंया भन्दा बढि राज्यको खर्च हुने भन्दै यसलाई हरेक नागरिकले जिम्मेवारीका साथ लिनुपर्ने बताए । उनले खोप कर्यक्रमलाई प्रभावकारी बताउन स्वास्थ्यको आधारभुत तह मानिने महिला स्वास्थ्य स्वयम्सेविकाहरुको भुमिका सरहानिय रहेको उल्लेख गरे ।
रुपन्देहीका सबै पालिकाहरु पूर्णखोप सुनिश्चितता दिगोपना तथा पूर्ण संस्थागत प्रसुती सेवा युक्त पालिका घोषित भएको उल्लेख गर्दै उनले यहि जेठ ३० गते भित्र जिल्लालाई नै घोषणा गर्ने तयारी रहेको जानकारी दिए ।
चापागाईले महिला स्वास्थ्य स्वयम्सेविका र पूर्ण खोप कार्यक्रम मार्फत नेपालले विश्वमा नै नमुना उदाहरण प्रस्तुत गरेको भन्दै यसमा खटिने सबै धन्यवादका पात्र भएको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले हरेक नागरिकलाइ खोपको महत्व बारे बुझाउन आवश्यक रहेको बताए । ‘दिगोपना भनेको सचेतना हो । खोप लगाउँदा हुने फाइदा र नलगाउदा हुने असर बारे जनचेतना जगाउन सकियो भने यसको दिगोपना स्वतः हुन्छ ।’ उनले भने, ‘नगरले स्वास्थ्यलाई नागरिकको धनको रुपमा हेरेको छ, त्यसैले पनि स्वास्थ्य प्रति नगर गम्भिर छ ।’
सोहि अवसरमा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकिय अधिकृत, मधुकृष्ण पौड्याल, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीकाका सुरेन्द्र दुबे, वडा नम्बर ३ का अध्यक्ष यज्ञ अर्याल, नगर स्वास्थ्य शाखा प्रमुख कासिनाथ बन्जाडे, चरङ्गे स्वास्थ्य सेवा केन्द्रका प्रमुख अरविन चन्द्र आचार्य लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै उनीहरुले देवदहको सिक्टहन, केरवानी र नगर अस्पतालले बर्थिङ सेन्टर मार्फत सेवा दिइरहेको र हरेक वडामा रहेका स्वास्थ्य सेवा केन्द्र मार्फत खोपका कार्यक्रम सञ्चालन भईरहेको बताए ।
जनस्वास्थ्य अधिकृत गिरी तरामुको सञ्चालनमा भएको कर्यक्रममा अभियानमा सहयोग पूर्याए वापत वडा तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology