नेत्र रूचाल, देवदह । देवदह नगरपालिकाभित्र वैधानिक रूपमा दर्ता भएर सञ्चालनमा रहेका फर्निचर व्यवसायीहरूले गैरदर्ता श्रमिक र ठेकेदार समूहका कारण आफुहरु मर्कामा परेको बताएका छन् । फर्निचर उद्योग संघ रूपन्देहीको अगुवाइमा आयोजित भेलामा बोल्दै फर्निचर उद्योगीहरुले घुमन्ते कामदार कारण आफुहरु समस्यामा परेको बताए ।
भेलामा बोल्ने वक्ताहरुले बिना दर्ता काम गर्दै हिँड्ने घुमन्ते कामदार र समूहहरूको कारण व्यवसायीहरूले बजार गुमाउँदै गएको र स्थानीय सरकारसमक्ष तिर्नुपर्ने राजस्व पनि ठूलो परिमाणमा चुहावट भइरहेको बताए ।
फर्निचर उद्योग संघ रूपन्देहीका अध्यक्ष तेजप्रसाद पराजुलीले संघले स्थापनाकालदेखि नै व्यवसायलाई कानुनीरूपमा अघि बढाउन अनुगमन प्रक्रियालाई प्राथमिकता दिँदै आएको बताए । उनले पछिल्लो समय दर्ता नहुने र कर नतिर्ने समूहहरू फर्निचर बजारमा हावी हुन थालेपछि वैधानिक व्यवसायीहरू असुरक्षित भएको धारणा राखे ।
“एकातिर घुमन्ते कामदारले बजार कब्जा गरेका छन्,” उनले भने, “अर्कोतिर कर तिर्दै आएका दर्ता व्यवसायीहरू व्यवसाय बन्द गरेर वैकल्पिक रोजगारीतर्फ पलायन हुन बाध्य छन्।”
अध्यक्ष पराजुलीका अनुसार घुमन्ते कामदारकै कारण दक्ष श्रमिकहरू काम नपाएर वैदेशिक रोजगारीतर्फ जान थालेका छन्, जसले उद्योगको दीर्घकालीन क्षमतामा असर पार्ने देखिन्छ।
फर्निचर उद्योग संघ रूपन्देहीको अगुवाइमा आयोजित उद्योगीहरूको भेलाले उद्योगीका समस्यालाई संस्थागत रूपमा सम्बोधन गर्न नगर स्तरीय फर्निचर अनुगमन उपसमिति गठन गरेको छ ।
संघका महासचिव खिम खड्काका अनुसार समितिको संयोजकमा चन्द्रबहादुर अधिकारी चयन भएका छन् । समितिमा नवराज भट्टराई सहसंयोजक, सन्तोष थापा सचिव, हरिप्रसाद भण्डारी कोषाध्यक्ष र पदम ढुङ्गाना, सन्दीप ढुङ्गाना, दिनेश चौधरी, रमेश बिष्ट र कमल ज्ञवाली सदस्य छन् ।
संघका सल्लाहकार विनोद न्यौपानेले स्थानीय सरकारसँग समन्वय गरेर घुमन्ते श्रमिक र ठेकेदार समूहलाई दर्ता प्रक्रियामा ल्याउन अनुगमन समिति क्रियाशील हुने बताए । “अब दर्ताविहीन समूहलाई बेवास्ता गरेर व्यवसायीको हित सुरक्षित गर्न सकिँदैन,” उनले भने, “दर्ता व्यवसायीको समस्या समाधान गर्न संघले स्पष्ट रणनीति र सरकारी सहयोगसहित अघि बढ्नुपर्छ ।”
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology