भैरहवा । जिल्लास्तरीय संयुक्त अनुगमन समितिले रुपन्देहीको भैरहवामा विना दर्ता सञ्चालित १० वटा व्यवसायिक स्वास्थ्य संस्था बन्द गरेको छ । बुधवार अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र बिना दर्ता सञ्चालनमा रहेको पाइएपछि ती व्यवसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवम् रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले जानकारी दिए ।
अनुगमन समितिले ८ वटा क्लिनिक र २ वटा ल्याब बन्द गरेको हो । १४ वटा निजी स्वास्थ्य संस्थामा अनुगमन गरिएकोमा १० वटा बन्द गरिएको रानाले बताए । ‘दर्ताविनै गैरकानूनी रुपमा स्वास्थ्य संस्था सञ्चालनमा रहेको भन्दै प्रशासनमा उजुरी आएको थियो’, उनले भने, ‘यसैलाई आधार मानेर अनुगमन गर्दा अधिकांश गैरकानूनी रुपमा सञ्चालिन रहेको पाइयो । कतिपय क्लिनिकले विरामी भर्ना गरेरै उपचार गरिरहेको पनि पाइयो, त्यस्तालाई तत्कालका लागि बन्द गरेका छौं ।’
रानाले दर्ता गरी मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन समेत दिइएको जनाए । अनुगमन समितिले बन्द गरेका अधिकांश क्लिनिक फार्मेसीसँगै सञ्चालित थिए । फार्मेसी सञ्चालनको अनुमती लिए पनि क्लिनिक सञ्चालनको अनुमती नलिएको पाइएपछि बन्द गरिएको हो ।
यसरी बन्द गरिएका क्लिनिकहरुमा सिद्धार्थनगर स्थित शिवम् क्लिनिक प्रा.लि., महादेजस फार्मेसीमा सञ्चालित क्लिनिक, होमटाउन फार्मेसीमा सञ्चालित क्लिनिक, श्रीनगर अप्टिकल सेन्टरमा सञ्चालित क्लिनिक, नेपाल चम्सा पसलमा सञ्चालित क्लिनिक रहेका छन् ।
यस्तै, जिविका मेडिकल प्रालिमा सञ्चालित क्लिनिक, श्रद्धा क्लिनिक र रोशिष प्याथोलोजी एण्ड क्लिनिक छन् । यसैगरी, लुम्बिनी प्थालोजी र न्यु ओम प्याथोलोजी ल्याब पनि बन्द गरिएको छ । बन्द गरिएका क्लिनिक र ल्याबहरु सिद्धार्थनगर ७, १२ र १३ नं वडाका हुन् । यी मध्ये दर्ता नभएका र मापदण्ड नपुगेका अधिकांश भैरहवास्थित जिल्ला भीम अस्पताल आसपासका रहेका छन् ।

सञ्चालन अनुमती नलिँदासम्म क्लिनिक र ल्याब पुन्ह सञ्चालनमा रोक लगाइएको अनुगमन समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको अनुगमनमा, सिद्धार्थनगर नगरपालिका, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी, सिद्धार्थ उद्योग बाणिज्य संघ, भीम अस्पताल, उपभोक्ता हीत संरक्षण मंच, औषधि व्यवसायी संघ लगायतका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।
अनुगमन समितिले यही आइतवार मात्रै बिना दर्ता सञ्चालित बुटवलका ६ वटा क्लिनिक समेत बन्द गरेको थियो । पाइलैपिच्छे क्लिनिक खोल्ने तर दर्ता र मापदण्ड पूरा नगरी सञ्चालन गर्ने परिपाटी पछिल्लो क्रममा बढीरहेको छ । नियमित र उजुरीका आधारमा अनुगमन गरी त्यस्ता संस्थाहरुलाई कानूनी दायरामा ल्याइने सहायक प्रमुख जिल्ला अधिकारी रानाले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology