काठमाडौँ । भिजिट भिसा प्रकरणमा विपक्षी दल फुटेका छन् । नेकपा माओवादी केन्द्रले कांग्रेस र एमालेसँग दुई बुँदे सहमति गरेसँगै विपक्षी दल दुई कित्तामा विभाजित भएका हुन् ।
शुक्रवार भिजिट भिसा प्रकरणको छानबिन र अध्ययन गर्न उपयुक्त संयन्त्र गठन गर्ने गरी माओवादीले प्रमुख सत्ताधारी दलसँग दुई बुँदे सहमति गरेपछि प्रतिपक्षि दलहरु बिचमा दरार पैदा भएको थियो । सहमतिपत्रमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तोला र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका थिए ।
सत्ताधारी दलहरुसँग सहमति गरेर विपक्षि रास्वपालाई मनाउने आत्मविश्वासका साथ छलफलमा गएको माओवादीलाई रास्वपाले आफुहरु गृहमन्त्रीको राजिनामा वा छानविन समिति भन्दा तल झर्न नसक्ने बताएपछि प्रतिपक्षी दलहरु भिजिट भिसा प्रकरणमा विभाजित भएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा रास्वपा आफ्नै किसिमले अगाडी बढ्ने प्रतिक्रिया दिएका छन् ।
कांग्रेस–एमालेसँग भएको सहमति बारे जानकारी दिदै प्रचण्डले रास्वपा आफ्नै किसिमले अगाडी बढ्ने, तर आफुहरुले उनीहरुको अडानमा विमति नराख्ने बताएका हुन् । प्रचण्डले भने, ‘अब हाउस खुल्छ । रास्वपासँग मुलभूत विषयमा केहि फरक छैन, तर उहाँहरुका केहि अडानका कारणले सायद केहि समय आफ्नै किसिमले जानुहुन्छ, हाम्रो बीचमा विमति र आरोप प्रत्यारोप हुदैन ।’
यो सहमति पछि भिजिट भिसा प्रकरणमा साथ रहेको रास्वपा अलग भएको छ र आफ्नो अडानमा कायम रहदै अब एक्लै लड्ने भएको छ ।
रास्वपाले भिजिट भिसा प्रकरणमा पाँच बुँदे प्रस्ताव ल्याएको थियो । रास्वपाले ल्याएको प्रस्तावमा भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी सरकारले पूर्ण सहयोग र सहजीकरण गर्ने, अख्तियारको क्षेत्रमाथि अतिक्रमण नगरेर भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न पाँच दिन भित्र उच्चस्तरीय छानबिन आयोग गठन गर्ने, समितिको कार्य क्षेत्र कार्यसम्पादन समिति गठन गर्ने, नैतिक हिसाबले गृहमन्त्री रमेश लेखकले राजीनामा दिने लगयतका विषय रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology