देवदह । केरवानी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यालय भवन उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश सरकारको करिव ४५ लाखको लागतमा निर्माण भएको प्रशासनिक भवनको शुक्रबार एक कार्यक्रम बीच खानेपानी तथा सरसफाई डिभिजन कार्यालय योगीकुटीका प्रमुख ईन्जिनियर राजकुमार चौधरी र खानेपानी उपभोक्ता तथा सरसफाई महासंघका केन्द्रिय सदस्य अनिषा पौडेलले संयुक्त रुपमा गरे ।
कार्यक्रममा बोल्दै ईन्जिनियर चौधरीले उपभोक्ता समिति सक्रिय भएमात्र खानेपानी संस्थालाई नमुना बनाउन सकिने बताए । केरवानी खानेपानी क्षेत्रमा आर्सनिक चुनौतीको रुपमा रहेको उल्लेख गर्दै उनले डि ट्युवलको लागि पहल गर्ने प्रतिवद्धता जनाए । स्वच्छ, शुद्ध खानेपानीको लागि ३ वटै तहको सरकारले यसलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने उनको भनाइ छ ।
त्यस्तै खानेपानी उपभोक्ता तथा सरसफाई महासंघका केन्द्रिय सदस्य अनिषा पौडेलले खानेपानी संस्थाहरु गैरनाफामुलक संस्था भएकोले राज्यले कर लगाउन नहुनेमा बताइन् । स्वच्छ र शुद्ध खानेपानीको लागि खानेपानी संस्थाहरु सक्रिय भएर लाग्न आग्रह गर्दै उनले खानेपानी संस्थालाई लगाइएको करको विरुद्धमा संघर्ष गर्ने बताइन् । महासंघको पहलका कारण विद्युतमा ५० प्रतिशत छुट गर्न सफल भएको उनको भनाइ छ ।
कार्यक्रममा देवदह-१ का वडाअध्यक्ष दिपकप्रसाद नेपाल, वडा नं २ का वडाअध्यक्ष दलबहादुर साकासकोटी, संस्थाका निवर्तमान अध्यक्ष कालुराम थापा लगायतले मन्तव्य राखेका थिए ।
केरवानी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था देवदह–१, का अध्यक्ष बोधराज गौडेलको अध्यक्षता, उपाध्यक्ष गीता भण्डारीको स्वागत र सचिव दिपक पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology