काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा प्रधानमन्त्रीहरू देशको होइन, आफ्नो निर्वाचन क्षेत्रको मात्रै प्रधानमन्त्री बन्ने प्रवृत्ति रहेको टिप्पणी गरेका छन् ।
शनिबार संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणालीले देशको समग्र हितमा काम गर्ने नेतृत्व उत्पादन गर्न नसकेको बताए ।
उनले प्रधानमन्त्री र मन्त्रीहरू देशको प्रतिनिधित्व गर्ने हैसियतमा पुगेपनि व्यवहारमा उनीहरूको ध्यान आफ्नै निर्वाचन क्षेत्र सीमित हुने गरेको टिप्पणी गरे ।
उनले भने, “प्रधानमन्त्री आफ्नो निर्वाचन क्षेत्रको मात्रै हुन्छ । स्रोतसाधन सबै त्यहीँ केन्द्रित हुन्छ । मन्त्री पनि क्षेत्रको मात्रै मन्त्री हुन्छ । कतिपय सांसद त न घरको न घाटको हुन्छन् । जनताले अर्को चुनावमा भोट नै हाल्दैनन् ।”
राजनीतिक स्थिरताबिना विकास सम्भव नहुने भन्दै यादवले अहिलेको प्रणालीलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले भने, “स्थिरता नभइ विकास हुँदैन। धेरै कुरा भताभुङ्ग हुन्छ । थाइल्याण्डमा स्थिरता छैन, विकास भइरहेको छ भन्ने पनि अर्धसत्य हो । हामीले प्रधानमन्त्री देशको बन्ने प्रणाली बनाउनु पर्छ ।”
अध्यक्ष यादवले अबको मुख्य आवश्यकता पूरै देशको प्रधानमन्त्री र पूरै देशको संसद बन्ने स्थितिको निर्माण गर्नु रहेको स्पष्ट पारे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology