काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले संसदमा निलो सल लगाएको विषयलाई लिएर उठेको विवादप्रति प्रतिक्रिया जनाउँदै संसदबाट निकाल्न चुनौती दिएकी छन् ।
मानव तस्करीविरुद्ध ऐक्यबद्धता प्रकट गर्न निलो सल लगाएर संसदमा उपस्थित भएकी गौतमले आफूहरूको विरोध शान्त र सभ्य रहेको उल्लेख गर्दै भनिन् – “नयाँ पुस्ताका सांसद कुर्सी भाँच्न, माइक फोड्न र कुटपिट गर्न आउँदैनन् ।”
सामाजिक सञ्जालमार्फत उनले संसदभित्रको आचरणप्रति लक्षित व्यङ्ग्य गर्दै भनिन्, “सत्ताको संरक्षणमा नेपाली बेचिएको विषयमा निष्पक्ष उच्चस्तरीय छानबिन समितिको माग गर्दै हामी संसदमा निरन्तर आन्दोलनरत छौँ । विरोधका आयाम अनेकौं हुन्छन्, रास्वपा शान्त र सभ्य विरोधमा उभिन्छ ।”
निलो सल लगाउनु नियमविपरीत भए संसदबाट निकाल्नसक्ने चुनौती दिँदै उनले कांग्रेसको विरोधका बेला प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भएको आक्रमणको प्रसङ्गसमेत स्मरण गराएकी छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology