काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीभित्र कार्यकर्ता तहमा सक्रियता र उत्साहमा कमी देखिन थालेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता सार्वजनिक गरेका हुन् । पार्टीभित्र देखिएका समस्याहरू समाधान गर्न सकिने स्पष्ट संकेत दिँदै पौडेलले नेतृत्वसँग त्यसका लागि आवश्यक क्षमता र सामर्थ्य रहेको दाबी गरे । तर, कार्यकर्ताको मनोबल घट्नु र राजनीतिक सक्रियतामा कमी आउनु पार्टीको दीर्घकालीन असर पार्ने चुनौतीको रूपमा उनले चित्रण गरे ।
“आज नेकपा एमालेमा हाम्रो काबुभन्दा बाहिर, हामीले समाधान गर्न नसक्ने कुनै समस्या छैन,” पौडेलले भने, “तर कार्यकर्ता तहमा जुन उत्साह र सक्रियता हुनु पर्थ्यो, त्यो कम भएको देखिन्छ । त्यसबारे थप छलफल जरुरी छ ।”
पार्टी नेतृत्वप्रति पूर्ण विश्वास रहेको बताउँदै उनले अहिले देखापरेका आन्तरिक समस्या समाधान गर्न सकिने आधार रहेको बताए । समस्याहरूको मूल्याङ्कन र त्यसअनुसार निष्कर्षमा पुग्ने प्रक्रियाले मात्र संगठनलाई बलियो बनाउन सकिने उनले टिप्पणी गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology