चितवन । लामो समयदेखि शिक्षा र राजनीतिमा सक्रिय नेता तथा नेकपा (एमाले) राष्ट्रिय सल्लाहकार परिषदका केन्द्रीय सदस्य भरत प्रसाद साह नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । बुधवार चितवनमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई पार्टीमा स्वागत गरे ।
बारा जिल्लाको कलैया उपमहानगरपालिका–५ निवासी साहले राजनीतिक यात्रा २०३५ सालमा अखिल (पाँचौं) का बारा जिल्ला अध्यक्षका रूपमा शुरू गरेका थिए । २०३७ र २०३८ सालमा ठाकुरराम कलेजमा दुई कार्यकाल स्ववियु सदस्यका रूपमा निर्वाचित भई विद्यार्थी राजनीतिमा सक्रिय रहेका उनी २०५४ देखि २०५९ सम्म एमाले शिक्षक संगठन बारा जिल्ला अध्यक्ष तथा २०६१ मा नेपाल शिक्षक युनियन बारा जिल्ला अध्यक्ष भए । २०७१ मा उनी सो युनियनकै केन्द्रीय अध्यक्षसमेत बनेका थिए ।
साह शिक्षा क्षेत्रको संगठनात्मक नेतृत्वमा उनले निरन्तर योगदान दिँदै आएका थिए भने राजनीतिक रूपमा अनुभवसञ्चित नेताका रूपमा उनी एमालेको राष्ट्रिय सल्लाहकार परिषद सदस्यको रूपमा सक्रिय थिए ।
पार्टी नेतृत्व विशेषतः केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्र रोजेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले साहको आगमनले पार्टी थप बलियो हुने विश्वास व्यक्त गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology