काठमाडौँ । देशभरको मौसममा आज पनि बदलीको अवस्था जारी छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आगामी २४ घण्टामा अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।
विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, अन्य प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षाको असर दैनिक जीवन, कृषि, स्वास्थ्य र यातायातमा पर्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने जनाइएको छ ।
कोशी प्रदेशमा हिमाली भेगमा हल्का हिमपात सम्भावित छ भने पहाड र तराईका धेरै ठाउँमा मेघगर्जनसहित भारी वर्षा हुने देखिएको छ । मधेश प्रदेशमा सामान्य बदली रहने र केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।
बागमती र गण्डकी प्रदेशमा हिमालमा हल्का हिमपात र पहाड तथा तराईका धेरै ठाउँमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनीमा पनि यस्तै अवस्था देखिएको छ ।
कर्णाली प्रदेशको हिमाली भेगमा हल्का हिमपात सम्भावित छ भने पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा अधिकांश भू–भागमा बदली छ । हिमाली भेगमा हल्का हिमपात र अन्य क्षेत्रमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने देखिएको छ ।
महाशाखाले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology