काठमाडौँ । इजरायल अहिले गाजामा हमाससँग र इरानसँग सक्रिय युद्धमा छ भने हिजबुल्लाहसहित अन्य समुहविरुद्धको लडाई लामो समयदेखि नै जारी रहेको छ । चारैतिरबाट युद्धले घेरिएको इजरायलको आर्थिक संकट बढ्ने देखिएको छ ।
इरान र इजरायलबीचको जारी द्वन्द्व केवल सैन्य मात्र होइन, यो अब आर्थिक संकटमा पनि परिणत हुँदैछ । पूर्व इजरायली रक्षा सल्लाहकार ब्रिगेडियर जनरल रीम अमिनाकका अनुसार, इजरायलले युद्ध लड्न हरेक दिन ७२५ मिलियन डलर खर्च गरिरहेको छ ।
यसमा मिसाइल, जेट इन्धन, बम विष्फोट र सेना तैनाथी जस्ता प्रत्यक्ष खर्चहरू मात्र समावेश छन् । यदि सार्वजनिक पूर्वाधारमा क्षति र उत्पादकत्वमा गिरावट पनि जोडियो भने, वास्तविक खर्च यो भन्दा धेरै बढी हुन सक्छ।
इजरायली अर्थ मन्त्रालयले २०२५ मा जीडीपी वृद्धि दरको अनुमान ४.३ प्रतिशतबाट घटाएर ३.६ प्रतिशत गरेको छ । साथै, २०२५ मा पहिले तोकिएको बजेट घाटा सीमा ४.९ प्रतिशतबाट बढ्न सक्ने बताइएको छ ।
जुन १३ मा इरानमाथि आक्रमण भएपछि, इजरायलको खर्च पहिलो दुई दिनमा १.४५ अर्ब डलर पुगेको थियो । यसमध्ये ५९३ मिलियन डलर बम विष्फोट र जेट इन्धनमा र बाँकी रक्षा सञ्चालनमा खर्च भएको रिपोर्टमा उल्लेख छ ।
इजरायली अर्थ मन्त्रालयले २०२५ को लागि तोकेको बजेट घाटा सीमा जीडीपीको ४.९ प्रतिशत अर्थात् लगभग २७.६ अर्ब डलर थियो । तर यो अनुमान इरानसँगको नयाँ युद्ध सुरु हुनुभन्दा पहिलेको थियो । अब इजरायलको बजेट घाटा अझ बढ्न सक्छ ।
यसैबीच, गाजा युद्धमा इजरायलको रक्षा बजेट पहिले नै धेरै खर्च भइसकेको छ । यस कारणले गर्दा, अर्थ मन्त्रालयले २०२५ मा जीडीपी वृद्धि दरको अनुमान ४.३ प्रतिशतबाट घटाएर ३.६ प्रतिशत गरेको छ ।
इजरायलको रक्षा बजेट २०२३ मा १५ अर्ब डलरबाट बढेर २०२५ मा ३१ अर्ब डलर पुगेको छ, जुन जीडीपीको लगभग ७ प्रतिशत हो (युक्रेन पछि विश्वमा सबैभन्दा बढी) । यसका कारण स्वास्थ्य र शिक्षा जस्ता महत्त्वपूर्ण क्षेत्रहरू पछि पर्न सक्छन् ।
यस युद्धमा अहिलेसम्म इरानले ४०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरिसकेको छ भने इजरायलले १२० लन्चरहरू नष्ट गरेको दाबी गरेको छ। इजरायलको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पनि अब थाक्दै गएको छ । अमेरिकाबाट नयाँ रक्षा प्रणालीहरूको अपेक्षा गरिएको छ । यसका साथै इजरायलले अमेरिकाबाट प्राप्त कोष बढाउन पनि माग गर्न सक्छ ।
फायर पावर वेबसाइटका अनुसार अमेरिकाले इजरायललाई आइरन डोम र एयरो डिफेन्स सिस्टमको सहयोग गर्दछ जुन सयौ मिलियन डलरमा छ । सैन्य सहायताको रूपमा अमेरिकाले प्रत्येक वर्ष इजरायललाई लगभग ३५० मिलियन डलर छुट्टै दिन्छ । यो सहायतालाई 'इजरायल कोष' भनिन्छ ।
यस युद्धको विश्वव्यापी प्रभाव पनि देखिन थालेको छ । कच्चा तेलको मूल्य ५ प्रतिशतले बढेको छ र ब्रेन्ट क्रुड प्रति ब्यारेल ७४.६० डलर पुगेको छ ।
- एजेन्सीको सहयोगमा तयार गरिएको
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology