देवदह । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देवदह नगर समितिले शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पार्टी स्थापना दिवसमा आयोजित कार्यक्रममा ४८ पिन्ट रगत संकलन भएको छ ।
कार्यक्रमको औपचारिक समारोहमा बोल्दै पार्टीका केन्द्रिय मानव अधिकार विभाग सदस्य गणेश पौडेलले पार्टी स्थापना दिवसलाई सभापति रवि लामिछानेमाथि राज्यले गरेको 'प्रतिशोध'को विरुद्धमा हस्ताक्षर संकलन सहितका कार्यक्रम गरी मनाइएको बताए । रास्वपामा जनताको अथाह माया र विश्वासपछि डराएका पुराना दलले पार्टी सभापतिलाई झुटो आरोपमा फसाएको उनको भनाइ छ ।
कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सदस्य प्रेम खत्री, जिल्ला सचिव विष्णुप्रसाद पौडेल लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
पार्टी नगर अध्यक्ष किरण भण्डारीको अध्यक्षता तथा नगर सचिव प्रकाश अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology