बुटवल । नेकपा (माओवादी केन्द्र) का सचिव चक्रपाणी खनालले माओवादी आन्दोलनबारे समाजमा फैलिएको भ्रम चिर्न बुद्धिजीवी वर्गले कलम चलाउनुपर्ने बताएका छन् ।
नेपाल बुद्धिजीवी संगठन, रुपन्देहीको सातौं जिल्ला सम्मेलन उद्घाटन गर्दै खनालले जनयुद्धलाई बदनाम गर्न ‘माओवादीले मान्छे मारे’ भन्ने हल्ला फैलाइएको भन्दै यसको तथ्यगत प्रतिवादमा बुद्धिजीवीहरू अग्रसर हुनुपर्ने बताए । 'संसारको कुन युद्धमा मान्छे मरेको छैन' भन्दै उनले प्रश्न गरे । “रुपान्तरणकारी जनयुद्धले ल्याएको उपलब्धिको रक्षा गर्नु र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु आजको आवश्यकता हो ।" उनले भने, "त्यसका लागि बुद्धिजीवीहरूको बहस अपरिहार्य छ ।”
कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालसंग बौद्धिक वर्गले समाज र युगलाई परिवर्तन गर्न सक्ने शक्ति भएको भन्दै अध्ययनको दायरा फराकिलो पार्न आग्रह गरे । उनले सामाजिक सञ्जालको आधारमा धारणा बनाउने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै गम्भीर बहस र अध्ययनको परम्परा पुनःस्थापित गर्नुपर्ने बताए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य रामु परियारले देशको नेतृत्व गर्नसक्ने एकमात्र पार्टी माओवादी भएको दाबी गरे । वर्तमान सरकारलाई इतिहासकै सबैभन्दा अलोकप्रिय भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको संरक्षण गरेको आरोप लगाए ।
कार्यक्रममा नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सचिव इन्द्र विश्वकर्मा, लुम्बिनी प्रदेश उपाध्यक्ष लोक शर्मा र संगठनका पूर्व जिल्ला अध्यक्ष यज्ञमूर्ति पाण्डेले जनयुद्ध र गणतन्त्रको पक्षमा बौद्धिक बहस आवश्यक रहेको धारणा राखे ।
सम्मेलनबाट मेघराज आचार्यको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । उपाध्यक्षमा प्रदीपकुमार पाण्डे, हिमा थापा र नेत्रलाल पाण्डे चयन भएका छन् । सचिवमा कौशलराज गौतम, सहसचिवमा डा. चन्द्रबहादुर थापा र लोकराज घिमिरे चयन भएको संगठनले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology