देवदह । जय किसन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै नेपाल पब्लिक क्याम्पस संघ रुपन्देहीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । देवदह आदर्श बहुमुखी क्याम्पसका प्रमुख अधिकारीको नेतृत्वमा निर्वाचित संघको जिल्ला उपाध्यक्षमा लिग्जा कलेज, छपियाका गोपाल पाण्डे चयन भएका छन् ।
संघको जिल्ला सचिवमा पर्रोहा बहुमुखी क्याम्पसका मोहन शर्मा, कोषाध्यक्षमा सुर्यपुरा बहुमुखी क्याम्पसका कैलाश यादव र सहसचिवमा सिद्धार्थ गौतमबुद्ध क्याम्पसका रामनाथ उपाध्याय चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा हरैया क्याम्पसका प्रकाश खनाल, रुपन्देही क्याम्पसका मिनप्रसाद शर्मा, शंकरनगर बहुमुखी क्याम्पसका दामोदर ज्ञवाली, मर्चवार बहुमुखी क्याम्पसका रामकेश पाल, पशुपति क्याम्पसका चेतराम पराजुली र खुदावागर बहुमुखी क्याम्पसका रामवली यादव रहेका छन् ।
सुद्दोधन गाउँपालिका–५ स्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न अधिवेशनमा रुपन्देहीका विभिन्न पब्लिक क्याम्पसका प्रमुख तथा अध्यक्षहरूको उपस्थिति थियो ।
संघको लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद खनालकोे अध्यक्षता र केन्द्रीय अध्यक्ष शत्रुहन प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा भएको कार्यक्रमले सार्वजनिक क्याम्पसहरूबीचको सहकार्य, साझा मापदण्ड र नीतिगत स्पष्टता आवश्यक रहेको औंल्याएको छ । अधिवेशनले नयाँ नेतृत्व सम्हालेसँगै जिल्लामा सार्वजनिक शिक्षा सुदृढ गर्ने अपेक्षा गरिएको छ ।
अधिवेशनको औपचारिक सत्रमा सार्वजनिक शिक्षाको सशक्तीकरण, पब्लिक क्याम्पसबीच समन्वय र गुणस्तरीय शैक्षिक नेतृत्व निर्माण गर्ने विषयमा धारणा राखिएको थियो ।
शहिद नारायण पोखरेल रामापुर बहुमुखी क्याम्पसका प्रमुख हेमन्त थापाको स्वागत र पशुपति बहुमुखी क्याम्पसका प्रमुख जितबहादुर रास्कोटीको सञ्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology