काठमाडौं । करिब ४ लाख नेपाली कामदार रहेका कतारमा इरानको तर्फबाट मिसाइल आक्रमण भएपछि व्यापक त्रासको अवस्था सिर्जना भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानले कतारको सनैयामा रहेको अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै ५० भन्दा बढी मिसाइल प्रहार गरेको हो ।
यद्यपि अमेरिकी सेनाले तीमध्ये अधिकांश मिसाइल आकाशमै निष्क्रिय पारेको जनाइएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार सोमबार साँझ करिब ७:५५ बजे आकाशमा ठूलो आवाजसहित धमाका भएका थिए । दोहामा बस्ने एक नेपालीका अनुसार,“भूकम्प आएको जस्तो आवाज आयो । आकाशमा तारा झरेको जस्तो ५० भन्दा बढी झिल्का देखिए । बम खसेको होइन, आकाशमै डिस्पोज गरिएको रहेछ ।”
कतारको हवाई क्षेत्रमा तुरुन्तै उच्च सतर्कता अपनाइएको छ। कतारी विदेश मन्त्रालयले आक्रमणलगत्तै अन्तर्राष्ट्रिय उडानहरू अस्थायी रूपमा बन्द गरिएको घोषणा गरेको थियो । सो निर्णयका कारण नेपालमा उडान गर्दै आएका कतार एअरवेज, नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स लगायतका व्यावसायिक उडानहरू अर्को सूचना जारी नभएसम्मका लागि रोकिएका छन् ।
कतारमा कार्यरत सुरेश भट्टका अनुसार हवाइ क्षेत्र केही समयका लागि बन्द भएको भए पनि अहिले पुनः आंशिक रूपमा खुलाइएको छ । तर, आम सर्वसाधारण विशेषगरी नेपाली कामदारहरूमा अझै त्रास कायम रहेको छ। कतारका प्रमुख बजार क्षेत्रहरू बन्द गरिएको छ भने मानिसहरू घरभित्रै बसिरहेका छन् ।
घटनापछि अमेरिकी सैन्य बेस क्याम्प वरपर सुरक्षा व्यवस्था कडा बनाइएको छ । कतारस्थित नेपाली दूतावासका अनुसार हाल कतारमा करिब ४ लाख नेपाली कार्यरत रहेका छन्। उनीहरूबीच सुरक्षा चिन्ता बढ्दै गएको देखिन्छ ।
इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेपछि अब अमेरिका पनि जवाफी कारबाहीमा जानसक्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा कतार थप असुरक्षित बन्न सक्ने चिन्ता कतारवासीहरूले व्यक्त गरेका छन् । रातको समयमा दुई पक्षबीच पुनः हानाहान भए ठूलो क्षति हुने आशंका गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology