गुल्मी । गुल्मीदरवार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड ३८ लाख ४० हजार रुपैयाँ बराबरको अनुमानित बजेट गाउँसभा समक्ष प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले प्रस्तुत गरेको बजेटमा चालू खर्चतर्फ ३४ करोड ८० लाख ५३ हजार र पूँजिगततर्फ २१ करोड ५७ लाख ८७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
संघीय सरकारबाट प्राप्त हुने स्रोत विवरण अनुसार, समानीकरण अनुदानतर्फ ८ करोड ८५ लाख, राजस्व बाँडफाँडबाट ७ करोड ८० लाख, विशेष अनुदान ३ करोड ७२ लाख, सशर्त अनुदान २ करोड २१ लाख र समपूरक अनुदानतर्फ ७५ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । प्रदेश सरकारबाट ६१ लाख १५ हजार समानीकरण, ७७ लाख ८० हजार राजस्व बाँडफाँड, १८ लाख विशेष अनुदान, ४ करोड ६२ लाख सशर्त र ७५ लाख समपूरक अनुदान प्राप्त हुने विवरण उपाध्यक्ष थापाले सभालाई जानकारी दिइन् ।
आन्तरिक आम्दानीतर्फ दुई करोड ९६ लाख ४६ हजार र बैंक मौज्दाततर्फ १५ लाख रुपैयाँ रहेको गाउँपालिकाले जनाएको छ ।
गएको चैत ६ गते नै प्रस्तुत गरिएको नीति तथा कार्यक्रमअनुसार अध्यक्ष सरोज कुमार थापाले गरिब लक्षित नीतिहरुलाई प्राथमिकतामा राखिएको बताएका छन् । राज्य सुविधा परिचयपत्र प्राप्त अति गरिब र मध्यम गरिब वर्गलाई लक्षित गरी निशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
शैक्षिक क्षेत्रमा उपाध्यक्ष शैक्षिक सुधार कार्यक्रम, विद्यालय सघन अनुगमन कार्यक्रम, ‘पढ्दै कमाउँदै’ कार्यक्रम र ‘अध्यक्ष नानी बाबु प्रतिभा प्रस्तुतीकरण कार्यक्रम’ लाई निरन्तरता दिइने भएको छ ।
सांस्कृतिक संरक्षण र रोजगार सिर्जनालाई जोड दिंदै ‘एक वडा एक पञ्चेबाजा समूह’ विस्तारको नयाँ कार्यक्रम अगाडि सारिएको छ । सामाजिक क्षेत्रतर्फ सामाजिक विकृति, कुसंस्कार र विभेद अन्त्य गरी ‘मेरो समाज, असल समाज’ कार्यक्रम सञ्चालन गरिनेछ ।
स्वास्थ्य र सरसफाईमा सुधार ल्याउन तोकिएका सूचकहरू पुरा गर्ने परिवारलाई ‘स्मार्ट एण्ड हेल्दी फेमिली’ घोषणा गरिने नीति लिइएको गाउँपालिकाले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology