काठमाडौँ । देशभर सक्रिय मनसुनी वायुको प्रभावसँगै विभिन्न प्रदेशमा बदली मौसम र वर्षा जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बुधबार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने महाशाखाले जनाएको छ।
त्यसैगरी, कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। यी दुई प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना पनि औंल्याइएको छ।
सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ। मौसम कार्यालयले वर्षाका कारण नदी तथा खोलाको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले सम्भावित जोखिमलाई ध्यानमा राखी जनस्वास्थ्य, कृषि, यातायात र दैनिक जनजीवनमा पर्न सक्ने असरबाट बच्न सावधानी अपनाउन र जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology