नविन केसी, अर्घाखाँची । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएसँगै अर्घाखाँचीको मालारानी गाउँपालिकामा अवस्थित १४ वटै माध्यमिक विद्यालयको परीक्षा परिणाम सार्वजनिक गरिएको छ । केही विद्यालयले उल्लेखनीय सफलता हासिल गरेका छन् भने केही विद्यालयमा अझै सुधारको खाँचो देखिएको छ ।
मालारानी–२ स्थित सरस्वतीमाता माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी भएका सबै २० जना विद्यार्थी उत्तीर्ण भएका छन् । मालारानी–५ मा रहेको सिद्ध माध्यमिक विद्यालयले पनि सहभागी १० वटै विद्यार्थीलाई सफल बनाउँदै शतप्रतिशत नतिजा प्राप्त गरेको छ ।
यस्तै, मालारानी–९ को सूर्य माध्यमिक विद्यालयले ४८ जना विद्यार्थी सहभागी गराई ४७ जनालाई पास गराउँदै उल्लेखनीय प्रदर्शन गरेको छ । विद्यालयले छात्रावासको व्यवस्था गर्दै नियमित पठनपाठनमा विशेष ध्यान दिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम क्षेत्रीले जानकारी दिए ।
गत वर्ष सोही विद्यालयबाट ५७ जना सहभागी विद्यार्थीमध्ये १३ जनाले मात्र राम्रो नतिजा ल्याएका थिए । यसपालि विद्यालयले सुधारात्मक प्रयास गर्दै गुणात्मक उपलब्धि हासिल गरेको छ । विद्यालयका प्रधानाध्यापक डुकप्रसाद पौडेलका अनुसार मोबाइल प्रयोगमा कडाइ गर्दै विद्यार्थीलाई पुस्तकतर्फ अभिमुखीकरण गराउँदा नतिजा उल्लेखनीय बनेको हो। कमजोर भनिएका विद्यार्थीहरूले समेत यसपालि राम्रो नतिजा ल्याएका छन् ।
त्यसैगरी मालारानी–३ स्थित आदर्श माध्यमिक विद्यालयबाट ६५ जना सहभागीमध्ये ५१ जना उत्तीर्ण भएका छन् । मालारानी–४ को कालिका नेरा माविबाट ६१ विद्यार्थी सहभागी भई ४० जना सफल भएका छन् ।
किरण माविबाट १९ जना विद्यार्थी सहभागी भएर १८ जनाले सफलता हासिल गरेका छन् । शान्ति मावि, मालारानी–५ बाट ६६ विद्यार्थीमध्ये ४८ जना उत्तीर्ण भएका छन् ।
मालारानी–६ को सिद्धार्थ माविबाट ६३ जनामध्ये २८ जना सफल भएका छन् । अर्घा मेहेलपानी माविबाट २७ जना सहभागी भई १७ जनाले परीक्षा पास गरेका छन् ।
मालारानी–७ स्थित बैद्यनाथ निम्न माध्यमिक विद्यालयबाट ३५ जनामध्ये ३१ जना, मालारानी–८ को बालशिक्षा माविबाट २६ जनामध्ये २० जना र मालारानी–९ को भूमेदह माविबाट २० जनामध्ये १७ जना विद्यार्थी सफल भएका छन् ।
मालारानी–२ मा रहेको बीरेन्द्र माविबाट २७ जनामध्ये १५ जनाले मात्र परीक्षा पास गरेका छन्। मालारानी–१ स्थित सिद्ध नेरा माविबाट भने २५ विद्यार्थी सहभागी भई ९ जना मात्र उत्तीर्ण भएका छन् ।
यसपटकको समग्र नतिजालाई गाउँपालिकाले सकारात्मक रूपमा मूल्यांकन गरेको छ । मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले परीक्षामा सफल भएका सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गरेका छन् । उनले पालिकाले गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा सुधारात्मक कार्यक्रमहरू निरन्तर अघि बढाइने बताएका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख गोविन्द भट्टराईले शिक्षक, अभिभावक, विद्यार्थीसंगै सरोकारवाला सबैले प्रयास गरेमा शिक्षाको गुणस्तर सुधार हुने उदाहरण एसइईको नतिजाले देखाएको बताएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology