काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच आज सेभिल्लामा द्विपक्षीय भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा छन् ।
दुवै प्रधानमन्त्रीबीच भएको भेटमा नेपाल–स्पेन सम्बन्धका विविध पक्षबारे छलफल भएको प्रधानमन्त्रीका सल्लाहकारले जनाएका छन् । विशेषगरी पर्यटन प्रवर्द्धन, जलवायु परिवर्तन, लगानी विस्तार, र जनता–जनताबीचको सम्पर्क मजबुत बनाउने विषयमा गहन छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीले समकक्षी साञ्चेजलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । उनले नेपालमा स्पेनको दूतावास स्थापना गर्न पनि आग्रह गरेका छन् । जवाफमा स्पेनका प्रधानमन्त्री साञ्चेजले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपालको भूमिकाको प्रशंसा गरे ।
भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, अर्थ सचिव घनश्याम उपाध्याय, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र परराष्ट्र सहसचिव कृष्णप्रसाद ढकाल सहभागी थिए ।
प्रधानमन्त्री ओली मेड्रिड हुँदै आइतवार सेभिल्ला आइपुगेका हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology