देवदह । देवदह–१ बिर्तास्थित श्री खड्ग माध्यमिक विद्यालयमा एसइई परिक्षामा सफलता प्राप्त गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै कक्षा ११ भर्ना शुभारम्भ र करियर काउन्सेलिङ्ग कार्यक्रम गरिएको छ।
कार्यक्रममा उत्कृष्ट जिपिए हासिल गर्न सफल विद्यार्थीहरूलाई उनीहरूका अभिभावकसहित सम्मान गरिएको विद्यालयले जनाएको छ ।
त्यसैगरी, परीक्षामा विषयगत रुपमा शतप्रतिशत नतिजा दिन सफल गणित शिक्षक चुडामणि शर्मा, नेपाली शिक्षक मोहन कलवार, अंग्रेजी तथा अर्थशास्त्र शिक्षक बाबुराम बस्नेतलाई विद्यालयले सम्मान गरेको छ ।
यस्तै शैक्षिक सत्र २०८१ का वर्ष उत्कृष्ट शिक्षकको रूपमा टिकाराम पौडेललाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।
खड्ग माविबाट एसइईमा सहभागी २३ जना विद्यार्थीमध्ये १८ जना उत्तीर्ण भएका छन । जुन समग्र नतिजामा ७८.२६ प्रतिशत हुन आउँछ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबास अग्रहरीको अध्यक्षता रहेको कार्यक्रममा देवदह नगरपालिका वडा नं. १ का वडाध्यक्ष दीपकप्रसाद नेपाल, विद्यालयका संस्थापक परिवारका प्रतिनिधिहरू, बर्दघाट नगरपालिका वडा नं. ५ की वडाध्यक्ष बिमला गुरुङ, सुरेन्द्र गुरुङ, राजेश गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
सोही अवसरमा विद्यालयले कक्षा ११ भर्ना प्रक्रिया औपचारिक रूपमा शुभारम्भ गर्दै प्रारम्भिक चरणमा १३ जना विद्यार्थीको भर्ना गरिसकेको जानकारी दिएको छ ।
साथै जुनसुकै विद्यालयबाट ग्रेड वृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीहरूका लागि निशुल्क तयारी कक्षा पनि विद्यालयले सुरु गरेको जनाइएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology